गृहपृष्ठ विशेष संसदीय समितिमा राष्ट्रियसभाको प्रतिनिधित्व हुनुपर्ने माग
विशेष संसदीय समितिमा राष्ट्रियसभाको प्रतिनिधित्व हुनुपर्ने माग
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद नरबहादुर विष्टले भोटेकोशी बाढी विपद्को व्यवस्थापनका लागि प्रतिनिधिसभाबाट गठन भएको विशेष संसदीय समितिमा राष्ट्रियसभाबाट प्रतिनिधित्व हुनुपर्ने बताएका छन ।
राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा भाग लिँदै उनले मुलुकमा जनताले अपेक्षा गरेअनुसार सुशासन कायम नभएको र भ्रष्टाचार नियन्त्रण नभएको टिप्पणी गरे । साथै उनले प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा जानु सकारात्मक भएको र मुलुकका हितमा विषय राख्नुपर्ने सुझाव दिए ।
सांसद विष्टले भोटेकोशी बाढी जलवायु परिवर्तनका कारण भएको तर्क गर्दै जलवायुका न्यायका लागि प्रधानमन्त्री शाहले महासभामा प्रभावकारी रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए । उनले भोटेकोशी प्रभावितका लागि प्रभावकारी रूपमा राहत र पुनःस्थापना गर्न माग गरे ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद सोनाम गेल्जेन शेर्पाले नेपालमा जम्मा दुई हजार ७० हिमताल गणना गरिएको र त्यसमध्ये २१ हिमताल खतरामा रहेको बताए । साथै उनले सन् १९८५ देखि प्रमुख हिमबाढी र हिमताल विष्फोटनका सात ठूला घटना भएको उल्लेख गर्दै भोटेकोशी हिमबाढीले हिमालय क्षेत्रमा देखिने नयाँ खतराको बारेमा बहस गर्नुुपर्नेमा जोड दिए।
“हिमनदी चट्टानसहित तल्लो तटीय क्षेत्रमा झर्दा अझ खतरा भन्ने नयाँ जोखिम देखिएको छ । यसमा नयाँ तरिकाले सोच्नुपर्छ र अध्ययन गर्नुपर्छ”, उनले भने । सांसद शेर्पाले नेपालले आगामी दिनमा पर्वतीय विषयलाई अन्तरराष्ट्रिय रूपमा प्रभावकारी रूपमा उठाउनुपर्ने सुझाव दिए ।
जनता समाजवादी पार्टी नेपालका सांसद पूजा चौधरीले त्रिपुरेश्वर चोकमा एकजना व्यक्तिले आत्मदाह गरेको विषयले राज्यप्रतिको विश्वासमा प्रश्न उठाएको उल्लेख गर्दै यो विषय आर्थिक र मानसिक समस्यासँग जोडिएको बताइन । साथै उनले आगामी दिनमा यस्ता घटना हुन नदिनमा सरोकारवाला निकायले प्रणालीगत सुधारका ध्यान दिनुपर्नेमा जोड दिइन ।
सांसद चौधरीले भोटकोशी बाढी विपद्मा खोज र राहतलाई प्रभावकारी बनाउन गठन गरिएको संसदीय समितिमा राष्ट्रियसभालाई नसमेटिएको उल्लेख गर्दै राष्ट्रियसभाबाट छुट्टै समिति गठन गर्न माग गरिन ।
नेपाली कांग्रेसका सांसद धर्मेन्द्र पासवानले पनि भोटेकोशी बाढी विपद्मा खोज र राहतलाई प्रभावकारी बनाउन गठन भएको संसदीय समितिमा दुवै सदनको सहभागिता हुनुपर्नेमा जोड दिए ।
नेपाली कम्युनिष्ट पार्टीका सांसद श्रीकृष्णप्रसाद अधिकारीले राहत र पुनःस्थापना प्रभावकारी बनाउन तथा चाडपर्व अघि नै सडक पूर्वाधार सुचारु हुने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराए ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद रोशनी मेचेले त्रिपुरेश्वर चोकमा केही दिन अघि एकजना व्यक्तिले आत्मदाह गरेको विषयका सम्बन्धमा सत्यतथ्य छानबिन गरी पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरिन । बैठक १० मिनेटका लागि स्थगित गरिएको छ ।
प्रकाशित समय : १५:५७ बजे


















