गृहपृष्ठ नेपाल विद्युत् प्राधिकरणले राख्यो २७१ सेवाग्राहीलाई कालोसूचीमा
नेपाल विद्युत् प्राधिकरणले राख्यो २७१ सेवाग्राहीलाई कालोसूचीमा

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले २७१ सेवाग्राहीलाई कालोसूचीमा राखेको छ । विगत दुई वर्षदेखि विद्युत् महसुल नतिर्ने ती सेवाग्राहीलाई कालो सूचीमा राखिएको हो ।
उनीहरुबाट ७९ लाख ३९ हजार ६९० बक्यौता उठाउन बाँकी छ । केन्द्रका सूचना अधिकारी अच्युतराज बिष्टका अनुसार छ महिनासम्म पनि महशुल नबुझाउनेको लाइन काट्नाका साथै कालोसूचीमा राख्ने गरिएको छ ।
कालोसूचीमा परेका ग्राहकलाई तीन पुस्तासम्म मिटरबक्ससहित विद्युत् उपलब्ध नगराउने गरी कारबाही गरिने उनले जानकारी दिए । कार्यालयका अनुसार केन्द्रमा हाल ६३ हजार ३ सय ५० सेवाग्राही रहेका र तिनबाट वार्षिक १८ करोड ८९ लाख १० हजार ८ सय १५ युनिट विद्युत् खपत हुँदा वार्षिक एक अर्ब ९४ करोड ८१ लाख ८३ हजार महसुल उठेको छ ।
गत आर्थिक वर्षमा समयमा महसुल नतिर्ने एक हजार ७ सय ४६ सेवाग्राहीको लाइन काटिएको थियो । उनीहरुमध्ये एक हजार ५४५ सेवाग्राहीको लाइन पुनः जडान गरिएको उनले जानकारी दिए । लाइन काटिएका सेवाग्राहीबाट चार करोड ४३ लाख ६० हजार महसुल असूली गरिएको कार्यालयले जनाएको छ ।
प्रकाशित समय : १४:२४ बजे