गृहपृष्ठ अमित आइटेल मोबाइलको ‘ब्रान्ड एम्बासडर’ नियुक्त
अमित आइटेल मोबाइलको ‘ब्रान्ड एम्बासडर’ नियुक्त
क्रिकेटर अमित श्रेष्ठलाई महालक्ष्मी मोबाइल कम्पनीको आइटेल मोबाइलको ब्रान्ड एम्बासडर घोषित गरेको छ । नेपाल पुलिस क्लबका २८ वर्षीय ब्याट्सम्यान अमितलाई आइटेलले एक वर्षका लागि नियुक्त गरेको हो ।
सम्झौता अवधिमा अमितलाई आइटेलले आवश्यक सम्पूर्ण खेल सामग्री सहयोग गर्नेछ । दायाँ हाते ब्याटर अमितले नेपालको यु-१९ राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका छन् भने १५ वर्षदेखि नियमित घरेलु क्रिकेट प्रतियोगिताहरु खेल्दै आएका छन् । उनले २०१३ को एसीसी यु-१९ र यु-१९ एसिया कपमा नेपालको प्रतिनिधित्व गरेका थिए ।
अमित क्यानले आयोजना गर्ने सिनियर प्रतियोगितामा लगातार दुई शतक प्रहार गर्ने एक मात्र ब्याट्सम्यान हुन् । उनले वीरगन्जको प्रतिनिधित्व गर्दै २०१२ मा उक्त कीर्तिमान बनाएका थिए । फ्रेन्चाइज एभरेस्ट प्रिमियर लिग भने अमितले काठमाडौं किङ्स ११ बाट खेलेका थिए ।
आइटेल कम्पनी सन् २०१७ बाट प्रयोगमा आएको हो । जुन १७ देशमा प्रयोगमा छ । जसमध्ये अफ्रिकामा सबैभन्दा लोकप्रिय रहेको महालक्ष्मी मोबाइल आइटेलका बिजनेस डेभलपमेन्ट हेड राजेश पौडेलले बताए ।
सम्झौतापछि पौडेलले क्रिकेट सबैले रुचाएको खेल भएका कारण सहकार्य गरेको बताए । ‘क्रिकेट सबैले रुचाएको खेल हो । खेलका लागि केही गरौं भनेर नै क्रिकेट खेलाडीलाई सहयोग गरेका हौं । खेलाडीलाई पनि सहयोग होस् र हाम्रो पनि प्रचार होस् भनेर सहकार्य गरेका हौं,’ पौडेलले भने ।
कम्पनीले सुरुआतमा करिब एक लाख २० हजार रुपैयाँ बराबरको खेल सामग्री प्रदान गर्ने र पछि आवश्यकताअनुसार थप सामग्री प्रदान गर्ने जानकारी गराए । यसबापत अमितले कम्पनीको लोगो आफ्नो ब्याटलगायत क्रिकेट किटर सोसल मिडियामा समेत कम्पनीको प्रचार गर्नेछन् ।
अमितले भविष्यमा क्रिकेट खेल्न यो सहकार्यले राहत पुग्ने बताए । उनले भने, ‘१५ वर्षको क्रिकेट करियरमा पहिलो पटक प्रायोजक पाएको हुँ । यो सहकार्यका लागि आइटेललाई धन्यवाद । यसपछि मलाई भविष्यमा खेल्न झनै सहयोग पुग्नेछ,’ अमितले भने ।
प्रकाशित समय : १४:१३ बजे


















