गृहपृष्ठ भारतका नवनिर्वाचित उपराष्ट्रपतिद्वारा शपथग्रहण
भारतका नवनिर्वाचित उपराष्ट्रपतिद्वारा शपथग्रहण
भारतका नवनिर्वाचित उपराष्ट्रपति जगदीप धनखरले भारतको १४औँ उपराष्ट्रपतिका रूपमा शपथ लिएका छन् ।
राष्ट्रपति द्रौपती मुर्मुले राष्ट्रपति भवन नयाँ दिल्लीमा उपराष्ट्रपति धनखरलाई बिहीबार शपथ खुवाएकी हुन् ।
गत अगस्ट ६ मा भएको निर्वाचनबाट उनी उपराष्ट्रपतिमा निर्वाचित भएका थिए । उनी निर्वाचित भएको घोषणा भने अगस्ट ७ मा प्रमुख निर्वाचन आयुक्त राजिभ कुमार र निर्वाचन आयुक्त अनुपचन्द्र पाण्डेले गरेका थिए ।
उपराष्ट्रपतिमा निर्वाचित धनखरसँग विपक्षी गठबन्धनको समर्थन पाएका उम्मेदवार मार्गरेट अल्भाले प्रतिस्पर्धा गरेकी थिइन् । भारतको संघीय संसदमा भएको निर्वाचनमा धनखरले ५२८ मत पाउँदा अल्भालाई १८२ मत परेको थियो । यसरी हेर्दा उपराष्ट्रपतिमा निर्वाचित धनखरले ७४.३६ प्रतिशत बराबरको मत प्राप्त गरेको देखिएको छ । सन् १९९७ पछिका ६ उपराष्ट्रपतिमध्ये उनले नै सबैभन्दा धेरै मत ल्याएका हुन् ।
उपराष्ट्रपति चयनका लागि ७८० जनाले मतदान गर्न पाउने थिए । तीमध्ये ७२५ जनाले मात्रै मतदान गरेका थिए । खसेको मतमध्ये पनि १५ मत रद्द भएको थियो । उपराष्ट्रपतिमा निर्वाचित हुन कम्तीमा ३५६ मतको आवश्यकता पर्नेमा धनखरले ५२८ मत पाउन सफल भए ।
उनको जन्म सन् १९५१ को मे १८ मा भारतको राजस्थान राज्यको झुन्झुनुमा सामान्य किसान परिवारमा भएको हो । उनले विद्यालय तहको शिक्षा छत्तिसगढस्थित सैनिक विद्यालयबाट पूरा गरेका थिए । उनले उच्च शिक्षामा भने भौतिक शास्त्र र कानुन शास्त्र अध्ययन गरेका थिए ।
प्रकाशित समय : १५:४६ बजे



















