गृहपृष्ठ ‘निर्वाचनको मिति तय भएको छ, हामी खुुुसी छौं’

‘निर्वाचनको मिति तय भएको छ, हामी खुुुसी छौं’

‘निर्वाचनको मिति तय भएको छ, हामी खुुुसी छौं’

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले निर्वाचनको मिति तय भएकोमा प्रसन्नता प्रकट गरेका छन् । प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले यस्ता महत्वपूर्ण विषयमा देशका प्रमुख दललाई थाहा हुनुपर्ने बताए ।

संविधानले मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरेको जनाउँदै उनले हरेक गठबन्धन र तालमेल संसदीय मूल्यमान्यताबमोजिम हुनुपर्नेमा त्यसो हुन नसकेको बताए । लोकप्रिय मतका आधारमा गत स्थानीय निर्वाचनमा एमाले पहिलो स्थानमा रहेको प्रसंग उनले उल्लेख गरे । ‘हामीले समयमै निर्वाचन घोषणा हुनुपर्छ भनेको थियौँ । घोषणा गरेको मितिमा भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनुपर्छ भन्ने नै हाम्रो चाहना हो । त्यस कुरामा हाम्रो सहयोग रहन्छ,’ उनले भने ।

निर्वाचनमा आफ्ना एजेण्डा लिएर जनताका बीचमा जान एमालेले तयारी गरेको जनाउँदै उनले आउने निर्वाचनमा जनताको आर्शिवाद रहनेमा विश्वस्त रहेको बताए । ‘आवधिक निर्वाचन घोषणा भएको छ अब जनताले फैसला गर्नेछन् । निर्वाचनमा हामीले उत्साहपूर्वक सहभागी हुनुछ,’ उपाध्यक्ष नेम्वाङले भने ।

पार्टीले निर्वाचनको तयारीका क्रममा विभिन्न प्रदेशमा प्रशिक्षण चलाइरहेको बताउँदै उनले दृढ विश्वासका साथ जनताका बीचमा जाने तयारीमा रहेको उल्लेख गरे ।

प्रकाशित समय : १८:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु