moneygram ime

गृहपृष्ठ राष्ट्रिय बिमा कम्पनी नवौं वर्षमा प्रवेश

राष्ट्रिय बिमा कम्पनी नवौं वर्षमा प्रवेश

राष्ट्रिय बिमा कम्पनी नवौं वर्षमा प्रवेश
citizen life insurance

समयसापेक्ष आधुनिक प्रविधिको प्रयोग र जनशक्ति विकास गरी बिमा बजारको नेतृत्वदायी भूमिका खेल्न सरोकारवालाहरुले राष्ट्रिय बिमा कम्पनी लिमिटेडलाई सुझाव दिएका छन् ।

कम्पनीको नवौं वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित समारोहमा बोल्दै विभिन्न सरोकारवालाले समयसापेक्ष आधुनिक प्रविधिको प्रयोग र जनशक्ति विकासका लागि आवश्यक लगानी र चुस्त व्यवस्थापनबाट थप कुशल र प्रतिस्पर्धी तथा बजारको नेतृत्वदायी भूमिका खेल्न सुझाव दिएका हुन् ।

अर्थमन्त्रालयका राजस्व सचिव कृष्णहरि पुष्करले कम्पनीले पूर्ण प्रतिवद्धताका साथ प्रभावकारी सुशासन एवं चुस्त सेवामार्फत आफना ग्राहक र सरोकारवालाहरुको अपेक्षा पुरा गर्दै अगाडि बढ्न आग्रह गरे । सरकारी स्वामित्वको एकमात्र निर्जीवन बिमा कम्पनीका रुपमा कम्पनीले आफनो विगतको कार्य प्रगतिको समिक्षा गर्दै थाती रहेका लेखापरीक्षण कार्य सम्पन्न गर्न पनि उनले आग्रह गरे ।

प्रचलित बिमासम्बन्धी कानुनको ऐन एवं बिमा नियमावलीको अधिनमा रही समयमै आफनो वित्तीय विवरणको प्रकाशन गर्नुका साथै वित्तीय पारदर्शिता, बिमाको व्यवसायिकता, संस्थाको मर्यादा तथा गुणात्मक क्षमता बढाउन पनि उनले आग्रह गरे ।

बिमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले कम्पनीले आफनो सेवालाई सर्वसाधारण र विपन्न वर्गसम्म पुर्‍याई बिमाको पहुँच र दायरा वृद्धि गर्न बिमा बजारका नवीनतम अवसरलाई आत्मसात गर्दै प्रतिस्पर्धात्मक एवं ग्राहकमुखी बिमा सेवा उपलब्ध गराउन आग्रह गरे ।

समितिले तोकेको समयसीमाभित्र पूँजी वृद्धि नगर्ने कम्पनीको कारोबार रोक्का गर्ने पनि उनले बताए । तोकिएको समयसीमाभित्र तोकिएको पूँजी नपुर्‍याउने सरकारी र निजी क्षेत्रको जुनसुकै कम्पनीलाई पनि कानुनी दायरामा ल्याउने उनको भनाइ थियो ।

नेपाल सर्भेयर एशोसिएसनका अध्यक्ष मोहनपुरुष ढकालले कम्पनीले दुई किसिमको काम गरेको बताए । एउटा अभिकर्ताको कमिशन कम गरिदिएको र अर्को बिमक संघ र सर्भेयर एशोसिएसनको बीचमा बसेर निर्धारण गरिएको फि कम्पनीले कम गरिदिएको बताए ।

कम्पनीसँग सर्भेयर एशाेसिएसनले सहकार्य गरेर अगाडि बढ्न खोजेको भन्दै अहिले भएका अवरोध हटाइदिन उनले आग्रह गरे । कम्पनीका अध्यक्ष राजेश्वर ज्ञवालीले अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन भएका बिमा कार्यक्रमका साथै कर्पोरेट क्षेत्रका व्यवसायिक जोखिम तथा परम्परागत बिमा व्यवसायका सबैखाले आर्थिक गतिविधिसँग कम्पनीको बिमा व्यवसायलाई समेट्दै लैजाने कार्य तीव्र गतिमा हुन थालेको बताए ।

नियामक निकायबाट हालसम्म (आ.व २०६८/६९ देखि आ.व. २०७२/७३ सम्मको) स्वीकृत वित्तीय विवरणको वार्षिक साधारणसभा यथाशीघ्र गर्ने लक्ष्य लिइएको जानकारी दिँदै उनले पछिल्ला आर्थिक वर्षहरुको वित्तीय विवरण पनि यसै आर्थिक वर्षभित्र तयार गरी वार्षिक साधारणसभा गर्ने लक्ष्य लिइएको बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रराज ओझाले सरकारले लिएको बिमासम्बन्धी नीति तथा कार्यक्रमको कार्यान्वयनमा प्रमुख सारथी तथा सहयोगीको भूमिका निर्वाह गर्दै आफ्ना कार्यक्रममार्फत सार्वजनिक सेवा प्रदान गर्नु र बिमाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गरी मुनाफा आर्जन गर्नु कम्पनीको दोहोरो दायित्व रहेको बताए ।

कम्पनीको लगानीका हिसाबले ऋणपत्र, सेयर र डिबेञ्चरमा बढी रहेको देखिएको जनाउँदै उनले हालसम्म नेपाल सरकार, बिमा समिति तथा नेपाल राष्ट्र बैंकद्वारा निर्दिष्ट गरिएका क्षेत्रहरुमा विद्यमान ऐन, नियम नीति तथा निर्देशिकाको परिधिभित्र रही विभिन्न बैंक, वित्तीय संस्था, नेपाल सरकारको ऋणपत्र, सेयर र डिबेञ्चरमा अल्पकालीन तथा दीर्घकालीन लगानी गरी कम्पनीले उच्चतम प्रतिफल प्राप्त गर्दै आएको बताए ।

प्रकाशित समय ११:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

muktinath bikas bank