गृहपृष्ठ पौवादुङमा गाउँपालिकाद्वारा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

पौवादुङमा गाउँपालिकाद्वारा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

पौवादुङमा गाउँपालिकाद्वारा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

पौवादुङमा गाउँपालिकाले जिल्लामै पहिलोपटक वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । गाउँपालिका केन्द्रमा रहेको बैंकसम्म आउन वृद्धवृद्धा तथा अशक्त नागरिकलाई समस्या भएपछि गाउँपालिकाले वडास्तरबाट सेवा दिन थालेको हो ।

यस्तै वडा नं ६ ठूलो दुम्मामाकी ९१ वर्षीया मिता राईले आफ्नै घरछेउबाट भत्ता लिन पाउँदा सहज भएको बताइन् । सरकारले दिएको भत्ताले जीवन गुजारा चलाउन सहज भए पनि भत्ता लिन गाउँपालिकासम्म जान भने धेरै सास्ती हुने गरेको उनको भनाइ छ ।

बैंकमा परिवारका सदस्यको सहयोगमा पुग्ने गरेको भए पनि आउँदा जाँदा भने अति नै समस्या भोग्नुपरेको उनले बताइन्। राई भन्छिन्, ‘बैंकमा पुगेर आफ्नो भत्ता लिन निकै समस्या थियो । बुढौली ज्यान हिँडेर जान समस्या । सवारी साधन रिजर्भ गर्दा धेरै खर्च हुन्छ । हामीजस्ता बूढाबूढी देखेपछि बसवालाले पनि ठग्न खोज्छन् । त्यसमाथि बैंकमा गएर लाइन बस्नुपर्दा धेरै कष्ट हुन्थ्यो । अब भने धेरै सहज भएको छ ।’

गाउँपालिकाले घुम्ती शिविरमार्फत टोलवासी भेला गरेर वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो । खास गरेर सामाजिक सुरक्षा भत्ता लिन सहज बनाउन यस्तो कामको थालनी गरेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए।

हालसम्म गाउँपालिकाभरि एक हजार चार सय ७१ जनाले भत्ता पाउँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । कार्यपालिकाको निर्णयअनुसार बैंक तथा सुरक्षा निकायसंग समन्वय गरेर भत्ता वितरण कार्यलाई वडास्तरबाट सञ्चालन गरिएको उनको भनाइ छ । उनले खासमा भत्ता लिनको लागि आउने समस्यालाई ध्यानमा राखेर कामको थालनी गरेका बताए । वृद्धवृद्धा तथा अशक्तलाई आउन धेरै कठिन रहेको र आउँदा यातायातलगायतमा खर्च हुने, विभिन्न झन्झट हुने समस्याको अन्त्य भएको उनको भनाइ छ ।

प्रकाशित समय : ११:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु