गृहपृष्ठ बराबरीमा रोकियो नेपाल
बराबरीमा रोकियो नेपाल
साफ यू–२० च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र बंगलादेशले बराबरीमा खेलेको छ । बंगलादेशलाई पुनरागमन गर्दै १–१ को बराबरीमा रोकेपछि नेपालले अंक तालिकामा एक खेल कम खेलेको भारतलाई पछि पारेको छ ।
निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमै दुई टोलीका खेलाडीबीच झगडा हुँदा रेफ्रीले मैदानमा रहेका दुई र बेन्चका एक गरी कुल तीन खेलाडीलाई रातो कार्ड देखाएका थिए । बंगलादेशका साहिदुल इस्लामले दोस्रो पहेँलो कार्डसँगै रातो कार्ड पाउँदा नेपालका दीपेश गुरुङ सिधैँ रातो कार्ड पाउँदै बाहिरिए । मैदानभित्र पसेर झगडा गरेका कारण बेन्चका वैकल्पिक खेलाडी रोहित सुब्बाले पनि रातो कार्ड पाए ।
खेलको ६३औँ मिनेटमा बंगलादेशले अग्रता लियो । मोहमद रफिकुल इस्लामको क्रसमा मोहमद पियास अहमद नोभाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाए ।
त्यसको ५ मिनेटपछि नै नेपालले बराबरी गोल फर्कायो । वैकल्पिक खेलाडी निरन्जन मल्लले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहार गोलकिफर मोहमद आसिफले बचाउने कुनै अवसर पाएनन् ।
बराबरी खेलेसँगै नेपालले अंक तालिकामा हाललाई एक खेल कम खेलेको भारतलाई पछि पारेको छ । नेपालको फाइनल पुग्ने सम्भावना अब भारत र माल्दिभ्सको खेलमा निर्भर छ । माल्दिभ्सले भारतलाई हराएको खण्डमा नेपाल फाइनल पुग्ने छ । भारतको बराबरी वा जितले भने नेपालको यात्रा समूह चरणमा सकिने छ ।
नेपालले ४ खेलबाट ७ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । बंगलादेश ४ खेलमा १० अंकसाथ अपराजित रहँदै लिगको शीर्षस्थानमा रहेर फाइनल प्रवेश गर्न सफल भएको छ । भारत ३ खेलमा ६ अंक जोड्दै तेस्रो स्थानमा छ । समान १–१ अंक जोडेको माल्दिभ्स चौथो र श्रीलंका पुछारमा छ ।
आज भारत र माल्दिभ्सले साँझ ७ः१७ बजे अन्तिम लिग चरणको खेल खेल्ने छ ।
प्रकाशित समय : १८:३३ बजे


















