गृहपृष्ठ कारोबार रकमसँगै घट्यो सेयर बजार
कारोबार रकमसँगै घट्यो सेयर बजार
केही दिनदेखि बढ्दो क्रममा रहेको सेयर बजारमा मंगलबार सामान्य अंकले घटेको छ । मंगलबार नेप्से सूचक २.७६ अंकले घटेर २ हजार १९३.४८ बिन्दुमा झरेको हो ।
मंगलबार २ हजार १७० बिन्दुसम्म झरेको नेप्से सूचक अन्तिम समयमा पुनः बढेर २ हजार १९३ बिन्दुमा बन्द भएको छ । यस दिन कारोबार रकम भने घटेको छ । सोमबार ४ अर्ब बढीको सेयर कारोबार भएकोमा मंगलबार ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७०५ रुपैयाँ बराबरको ७८ लाख १३ हजार १०२ कित्ता सेयर कारोबार भएको छ ।
मंगलबार फाइनान्स, हाइड्रोपावर र व्यापार उपसमूहमा लगानीकर्ताको आकर्षण रहँदा यी तीनै उपसमूहको सूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ । कारोबारमा आएका १३ उपसमूहमा ७ उपसमूहको सूचक भने नकारात्मक छन् ।
यस दिन विन्दवासिनी हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ भने सामलिंग पावरको ९.९८ प्रतिशत, हिमाल दोलखा हाइड्रोपावरको ९.९७ प्रतिशत र रिभर फल्स हाइड्रोपावरको ८.५३ प्रतिशतले बढेको छ ।
यता राष्ट्र उत्थान लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै ४.२४ प्रतिशतले घटेको छ भने किसान लघुवित्तको ३.९० प्रतिशत, गणपति लघुवित्तको ३.६४ प्रतिशत र सपोर्ट माइक्रोफाइनान्सको ३.३८ प्रतिशतले घटेको छ ।
मंगलबार पनि शिवम् सिमेन्टको सबैभन्दा धेरै २९ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको ९ करोड ९५ लाख, फरवार्ड माइक्रोफाइनान्सको ९ करोड २४ लाख र गुडविल फाइनान्सको ९ करोड ४ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
प्रकाशित समय : १७:०६ बजे