गृहपृष्ठ ४८ दिनपछि गाडेको अवस्थामा शव फेला, श्रीमानसहित ३ जना पक्राउ
४८ दिनपछि गाडेको अवस्थामा शव फेला, श्रीमानसहित ३ जना पक्राउ
सर्लाहीको पर्सा गाउँपालिका-१, शीतलपुरमा एक महिलाको हत्या गरी गाडिएको अवस्थामा ४८ दिनपछि शव फेला परेको छ । शीतलपुर निवासी बालदत्त भन्ने रमजेशकुमार रायले आफ्नै २० वर्षीय श्रीमती निशा यादवको हत्या गरी धान खेतमा गाडेको अवस्थमा शुक्रबार शव फेला परेको हो ।
महिला हराएको निवेदन जिल्ला प्रहरी कार्यालय सर्लाहीमा माइती र ससुराली पक्षले दिएपछि खोजीमा जुटेको प्रहरीले ४८ दिनपछि धान खेतमा शव गाडिएको अवस्थामा फेला पारेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी विजय यादवले जानकारी दिए ।
हत्यामा संलग्न मृतक निशा यादवका श्रीमान रमजेशकुमार राय, ससुरा रामप्रताप राय र देवर राजु यादवलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको डीएसपी यादवले जानकारी दिए । निशाका घरका सदस्यहरुमाथि प्रहरीको शंका लागेपछि प्रविधियुक्त विश्लेषण गर्ने क्रममा हत्यामा संलग्नहरुको पहिचान हुन सकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी यादवले जानकारी दिए । ससुराली पक्षले निशाको हत्या गरी आफ्नै धान खेतमा खाल्डो खनी गाडेको थियो । निशालाई गएको जेठ २२ गतेका दिन नै हत्या गरिएको प्रहरीले जनाएकाे छ ।
महोत्तरी सोनमा गाउँपालिका-१, मगरथाना निवासी निशा यादवको गत फागुनमा रमजेशकुमार रायसँग बिहे भएको थियो ।
प्रकाशित समय : ०७:५० बजे



















