गृहपृष्ठ बाढीले मेलम्ची-हेलम्बु सडक अवरुद्ध
बाढीले मेलम्ची-हेलम्बु सडक अवरुद्ध
गए रातिको वर्षासँगै आएको बाढीले मेलम्ची-हेलम्बु सडकखण्डको ठाउँ-ठाउँमा बाटो बगाउँदा यातायात सेवा अवरुद्ध भएको छ । गन्तव्यतर्फ हिँडेका सवारी साधनहरू बाटाेमै राेकिएका छन् ।
काठमाडौंबाट सिन्धुपाल्चोक जाने तथा सिन्धुपाल्चोकबाट काठमाडौं आउने सवारीसाधन तथा यात्रु बीच बाटोमै अलपत्र परेकाे स्थानीयवासीहरूले बताएका छन् । उनीहरूका अनुसार खाेला आसपास क्षेत्रका केही बजारमा पानी पसेकाे छ ।
बाढीले हेलम्बुको चनौटेमा गत वर्षको बाढीपछि बनाइएको सडक क्षतविक्षत बनेको स्थानीय बलसित खड्काले जानकारी दिए । यस्तै हेलम्बुको ढुंगेबजार र मेलम्चीको सीमखेतमा पनि सडक अवरुद्ध भएको मेलम्चीका श्याममणि चालिसेले बताए । गएराति भारी वर्षा हुँदा हेलम्बुका ग्याल्थुमलगायत क्षेत्रका बासिन्दा घरबाहिर बस्न बाध्य भएका थिए ।
गएराति सिन्धुपाल्चोकको मेलम्ची खोलास्थित नाकोते र आसपासमा भारी वर्षा भएको थियो । जलसतह बढेपछि मेलम्चीको तटीय क्षेत्रमा बाढी तथा भिरालो जमिन भएको ठाउँमा पहिरो जानसक्ने भएकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
प्रकाशित समय : ०७:३७ बजे


















