गृहपृष्ठ कांग्रेसको केन्द्रीय समिति बैठकबाट के-के भयो निर्णय ?
कांग्रेसको केन्द्रीय समिति बैठकबाट के-के भयो निर्णय ?
फाइल तस्बिर ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सकिएको छ । बैठकले भ्रातृ संस्थालाई साउनभित्र पूर्णता दिने लगायतका विभिन्न निर्णय गरेको छ । यसका साथै विभिन्न नयाँ भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिएको छ ।
बैठकले आगामी संघीय चुनावमा गठबन्धन गर्ने र यसका लागि सत्ता गठबन्धनमा रहेका दलहरूसँग चुनावी तालमेलका लागि छलफल गर्ने निर्णय बैठकले गरेको छ । सरकारले संविधानलाई ट्रयाकमा ल्याएको कांग्रेस निषकर्ष छ । बैठकले कोभिड खोप व्यवस्थापन, एमसीसी अनुमोदन र स्थानीय तहको निर्वाचन लगायतका महत्वपूर्ण काममा सरकारले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेको छ ।
कांग्रेसले आर्थिक संकटको सामना गरिरहेको श्रीलंकालाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसमक्ष आग्रह पनि गरेको छ ।
बैठकका निर्णयहरु:
१. पार्टी उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक
पूर्णबहादुर खड्काद्वारा केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको प्रतिवेदन’ र पार्टी प्रवक्ता एवं स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार-प्रसार समितिका संयोजक डा. प्रकाशशरण महतद्वारा प्रस्तुत ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार-प्रसार समितिको प्रतिवेदन’ उपर केन्द्रीय कार्यसमितिको बैठकबाट प्राप्त सुझावलाई समावेश गर्ने गरी उक्त दुवै प्रतिवेदनहरुलाई अनुमोदन गर्ने ।
२. सदस्यता व्यवस्थापन केन्द्रीय समिति, केन्द्रीय अनुशासन समिति र केन्द्रीय लेखा समिति गठन सम्बन्धमा ।
(क) नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४(९)(क) बमोजिम पार्टी सभापति शेरबहादुर देउवाद्वारा तोकिनु भएका पार्टीका महामन्त्री गगनकुमार थापा संयोजक रहनु भएको ‘सदस्यता व्यवस्थापन केन्द्रीय समिति’ गठन गर्ने ।
(ख) नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४(७) बमोजिम केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा ‘केन्द्रीय अनुशासन समिति’ गठन गर्ने ।
(ग) नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३८(१) बमोजिम पार्टी सभापति शेरबहादुर देउवाद्वारा प्रस्ताव गरिनु भएका पार्टी केन्द्रीय कार्यसमितिका सदस्य श्यामकुमार घिमिरे संयोजक रहनु भएकोे ‘केन्द्रीय लेखा समिति’ गठन गर्ने । सभापतिले आवश्यक परामर्श गरी उपरोक्त समितिहरुलाई पूर्णता प्रदान गर्ने ।
३. नयाँ भ्रातृ संघ एवं शुभेच्छुक संस्थाको मान्यता सम्बन्धमा ।
(क) नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२(१)(क) बमोजिम (१) नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ (२) नेपाल थारु संघ (३) नेपाल लोकतान्त्रिक खेलकूद संघलाई नेपाली कांग्रेसको भ्रातृ संघको मान्यता प्रदान गर्ने ।
यस अघि नै पार्टीको भ्रातृ संघको रुपमा मान्यता प्राप्त गरिसकेका (१) नेपाल राष्ट्रिय मगर संघ, र (२) नेपाल तामाङ संघ तथा शुभेच्छुक संस्थाको रुपमा मान्यता प्राप्त गरिसकेका (१) नेपाल लोकतान्त्रिक शेर्पा संघ, (२) नेपाल कुमाल संघ र (३) लोकतान्त्रिक नेवाः खल, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ अन्तर्गत आवद्ध संघको रुपमा रहनेछन् । आदिवासी जनजाति भित्र रहेका अन्य जातजातिहरु (थारू बाहेक) को आवद्ध संघ महासंघले गठन गर्न सक्नेछ ।
(ख) नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२(२)(क) बमोजिम (१) नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ, (२) नेपाल लोकतान्त्रिक यातायात व्यावसायी संघ, (३) नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघ, (४) नेपाल लोकतान्त्रिक पर्यटन व्यावसायी संघ, (५) नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ, (६) नेपाल लोकतान्त्रिक आर्युवेद चिकित्सक संघ, (७) नेपाल लोकतान्त्रिक साना होटल व्यावसायी संघ, (८) नेपाल लोकतान्त्रिक भूतपूर्व प्रहरी संघ, (९) नेपाल लोकतान्त्रिक भूतपूर्व कर्मचारी संघ, (१०) नेपाल स्वास्थ्यकर्मी संघ, (११) नेपाल सामुदायिक विद्यालय कर्मचारी संघलाई नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको मान्यता प्रदान गर्ने ।
नेपाल आदिवासी जनजाति संघका विद्यमान संरचनाहरु स्वतः निष्क्रिय
हुनेछन् । पार्टीबाट मान्यता प्राप्त उल्लेखित भ्रातृ संघ र शुभेच्छुक संस्थाको विधानलाई आवश्यक परिमार्जन गरी केन्द्रले अन्तिम रूप प्रदान गर्ने ।
४. अवधि समाप्त भएर गठन हुन बाँकी रहेका र पूर्णता प्राप्त नगरेका पार्टी आवद्ध भ्रातृ संघलाई यही २०७९ श्रावण मसान्तभित्र गठन र पूर्णता प्रदान गर्ने ।
५. नेपाली कांग्रेसको आगामी ‘नीति महाधिवेशन’ का सम्बन्धमा आवश्यक तयारी गरी केन्द्रीय कार्यालयले केन्द्रीय कार्यसमितिको आगामी बैठकमा प्रस्ताव प्रस्तुत गर्नेछ ।
६. स्थानीय तहमा नेपाली कांग्रेस पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुका लागि आचारसंहिता जारी गरी केन्द्रले लागू गर्ने ।
७. २०७९ भाद्र २ देखि २४ गतेसम्म राष्ट्रव्यापी रुपमा विशेष अभियान चलाउने यो बैठक निर्णय गर्दछ । अभियानको विस्तृत खाका केन्द्रीय कार्यालयले तयार गर्नेछ ।
८. नेपाली जनसम्पर्क समिति साइप्रसबाट पार्टी विधान बमोजिम तोकिएको रकम र आवश्यक कागजातसहित प्राप्त हुन आएका क्रियाशील सदस्यताको नामावली जम्मा ५०१ (नवीकरण १३० र नयाँ ३७१) लाई स्वीकृत गर्ने ।
९. धन्यवाद प्रस्ताव
नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले स्थानीय निर्वाचन व्यवस्थित र निष्पक्ष रुपले एकै चरणमा सम्पन्न गराएकोमा केन्द्रीय कार्यसमितिको यो बैठक प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँको मन्त्रिपरिषदको उच्च कदर गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्दछ । साथै, यो बैठक निर्वाचन आयोग, निर्वाचनमा खटिएका कर्मचारी एवं सम्पूर्ण सुरक्षा निकाय, संचार क्षेत्रलगायत सबैको मेहनत र दक्षताको उच्च प्रशंसा गर्दछ ।
१०. सम्मान र बधाई ज्ञापन प्रस्ताव
स्थानीय निर्वाचनमा उत्साहपूर्वक सहभागी भएर मुलुकको लोकतान्त्रिक प्रणालीलाई अझ मजबुत बनाउन योगदान गर्ने सम्पूर्ण नेपाली दिदिबहिनी दाजुभाइमा यो बैठक बधाई ज्ञापन गर्दछ ।
आफ्नो अमुल्य मतमार्फत नेपाली कांग्रेसलाई पहिलो दल बनाउनु हुने समस्त मतदातामा यो बैठक हार्दिक आभार प्रकट गर्दै मतदाताको त्यो विश्वासलाई सदैव शिरोपर गर्ने प्रण गर्दछ ।
पार्टीको विजय अभियानलाई सफल बनाउन अहोरात्र खट्नु हुने विभिन्न तहमा कृयाशील पार्टीका साथीहरु तथा सबै शुभचिन्तकहरुमा यो बैठक सम्मान तथा बधाई ज्ञापन गर्दछ ।
११. चुनावी तालमेल सम्बन्धमा
२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा स्थानीय अवस्था र आवश्यकताका आधारमा पाँच दलीय गठबन्धनमा सहभागी हुने निर्णय पार्टीले गरेको थियो । यही निर्णयका आधारमा कतिपय स्थानीय तहमा गठबन्धनसहित हामीले निर्वाचनमा भाग लियौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक समग्रमा गठबन्धनसहित प्राप्त परिणामप्रति सन्तोष व्यक्त गर्दछ ।
वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनबाट पहिलो दल बनेको नेपाली कांग्रेसलाई आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा बहुमततर्फ लक्षित गराउँदै संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै जनताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्नका लागि केन्द्रीय कार्यसमितिको यो बैठक सत्ता गठबन्धनमा रहेका दलहरूसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गर्दछ ।
यसरी गठबन्धनमा रहेका दलहरूका बीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्ध लगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गर्दै आम नेपाली जनतालाई पाँच वर्षमा स्थिर सरकारमार्फत जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने स्पष्ट कार्यक्रमको खाका सहित आमनिर्वाचनमा नेपाली कांग्रेस प्रस्तुत हुनु पर्दछ भन्ने ठहर यो बैठक गर्दछ ।
साथै, तालमेल गरिरहँदा नेपाली कांग्रेसको मुख्य नेतृत्वदायी भूमिका रहेको यथार्थ, सांगठनिक वस्तुस्थिति तथा पार्टी पंक्ति एवं शुभेच्छुकको भावनालाई दृष्टिगत गर्दै गठबन्धनमा रहेका दलहरुसँग संवादमार्फत निष्कर्षमा पुग्ने निर्णय यो बैठक गर्दछ ।
१२. सरकारलाई सुझाव तथा ध्यानाकर्षण
संविधानको रक्षा गर्न र लोकतान्त्रिक संस्थाहरू माथिको आक्रमण रोक्नका निम्ति विशेष परिस्थितिमा नेपाली कांग्रेस नेतृत्वमा गठन भएको पाँच दलीय गठबन्धनको वर्तमान सरकारले आफ्नो कार्यकालको एक वर्ष पुरा गरेको छ । संविधानलाई ट्रयाकमा ल्याउँदै क्रमश: कोभिड खोप व्यवस्थापन, एमसीसी अनुमोदन र स्थानीय तहको निर्वाचन लगायतका महत्वपूर्ण काममा सरकारले निर्वाह गरेको भूमिकाको यो बैठक कदर गर्दै अनेक राजनैतिक चुनौती पार गर्दै मुलकलाई सहि मार्गमा ल्याई पुर्याउन सफल नेतृत्व गरेको नेपाली कांग्रेसको नेतृत्वमा विद्यमान आर्थिक चुनौतीलाई सामना गर्दै मुलुकको आर्थिक विकास र समुन्नति यात्रालाई सार्थक गति दिन सकिन्छ र त्यो नै आजको प्रधान कार्यभार हो भन्ने आग्रह साथ यो बैठक जनजीविका र सुशासनलगायत निम्न विषयमा सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छ ।
(क) पूर्ववर्ती सरकारले संविधानको मर्मविपरीत संवैधानिक परिषद् सम्बन्धी अध्यादेशलगायत विविध विषयमा ल्याएका प्रस्ताव र निर्णयहरुका विरुद्ध उभिएको स्मरण गर्दै यस्ता महत्वपूर्ण कानून बनाउँदा र निर्णय गर्दा संविधानको मर्म र भावनाको अनुरुप हुनेगरी निर्णय गर्न नेपाली कांग्रेस सरकारसँग आग्रह गर्दछ ।
(ख) देशको विद्यमान आर्थिक अवस्थालाई लिएर आम नागरिकमा अस्वभाविक ढगले भय सिर्जना गर्ने काम भइरहेकोमा सरकारले आम नागरिकलाई अर्थतन्त्रको अहिलेको वास्तविक अवस्था के छ, मुख्य समस्या कहाँ छ, चुनौतीहरु के छन्, जोखिम न्यूनीकरण गर्न के गर्न सकिन्छ लगायतका विषयमा श्वेतपत्र जारी गरी यथार्थ सार्वजनिक गर्न आग्रह गर्दछ तथा अर्थतन्त्रमा देखिएका समस्यालाई सम्बोधन गर्न आवश्यक कार्य योजना तयार गरि कार्यान्वयन गर्न सरकारसँग आग्रह गर्दछ ।
(ग) सुशासन कायम गर्ने सन्दर्भमा ‘शुन्य सहनशीलता’ नीति अंगीकार गरी व्यवहारिक कार्यान्वयन गर्न, पारदर्शिता कायम गर्न र गल्ती गर्ने कसैले पनि उन्मुक्ति नपाउने अवस्थाको सिर्जना गर्न कुनै कसर बाँकी नराख्न यो बैठक सरकारसँग आग्रह गर्दछ ।
(घ) महँगी, कालोबजारी, मलको अभावलगायत जनजीविकाका सवालहरूमा सरकारले विशेष ध्यान दिई जनताले दैनिक रुपमा भोग्नुपरेका समस्या, प्रक्रियागत झन्झट र अप्ठ्याराहरूलाई सहज बनाउन र जनताको साथमा सरकार छ भन्ने अनुभूति दिलाइरहन सरकार थप क्रियाशील हुन यो बैठक आग्रह पर्दछ । खेतीको समयमा हरेक वर्ष नेपाली किसानहरुले भोग्नुपरेको मलको अभाव अन्त्य गर्न दीर्घकालीन समाधानको उपाय अवलम्बन गर्न यो बैठक सरकारसमक्ष आग्रह गर्दछ ।
(ङ) नागरिकताबाट बञ्चित नेपाली नागरिकहरुलाई नागरिकता प्रदान गर्न संविधानको व्यवस्थाबमोजिम संसदमा सरकारद्वारा प्रस्तुत नागरिकतासम्बन्धी विधेयकलाई संसदको चालु अधिवेशनबाट पारित गर्न सरकारको ध्यानाकर्षण गराउँदछ ।
प्रकाशित समय : १९:३६ बजे



















