गृहपृष्ठ नेपालले स्कटल्याण्डलाई जितका लागि दियो १२९ रनको लक्ष्य
नेपालले स्कटल्याण्डलाई जितका लागि दियो १२९ रनको लक्ष्य
आइसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले स्कटल्याण्डलाई जितका लागि १२९ रनको लक्ष्य दिएको छ ।
स्कटल्याण्डको टिटवुड ग्लासगोमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ३५.५ ओभरमा सबै विकेट गुमाउँदै १२८ रन मात्र बनाउन सक्यो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४० रनको योगदान दिए । उनले ५८ बल खेल्दै ६ चौकाको मद्धतमा ४० रन बनाएका हुन् । यसैगरी कप्तान सन्दीप लामिछानेले २२ रन जोड्दा विनोद भण्डारीले १३ तथा देव खनाल र रोहित पौडेलले समान १०–१० रन जोडे ।
दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करण केसीले समान ७–७ रनको योगदान दिए भने कुशल भुर्तेलले ३ रन जोडे ।
नेपाललाई सस्तैमा समेट्ने क्रममा स्कटल्याण्डका हमजा ताहिर एक्लैले चार विकेट लिए भने मार्क वार्टले तीन विकेट लिए । गाभिन मैनले दुई विकेट लिँदा क्रिस्टोफरले एक विकेट हात पारे । १२९ रनको विजयी लक्ष्य पच्छाएको स्कटल्याण्ड अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
उक्त सिरिजअन्तर्गत यसअघि नेपालले स्टकल्यण्डलाई पाँच विकेटले पराजित गरेको थियो । नेपाल नामिबियासँग भने दुवै खेलमा पराजित भएको थियो । पहिलो खेलमा नेपाल नामिबियासँग ४० रन र सिरिजको तेस्रो खेलमा ६३ रनले पराजित भएको थियो । यता स्कटल्याण्डले भने नामिबियालाई दुवै खेलमा हराएको थियो ।
प्रकाशित समय : १९:५७ बजे

















