गृहपृष्ठ डिम्याट अकाउन्ट दुरुपयोगको आशंका, धितोपत्र बोर्ड भन्छ‑ नियमन गर्छौं
डिम्याट अकाउन्ट दुरुपयोगको आशंका, धितोपत्र बोर्ड भन्छ‑ नियमन गर्छौं
मर्चेन्ट बैंकहरूले सेयर लगानीकर्ताका डिम्याट अकाउन्ट सहजै कुनै पनि निजी संघ‑संस्थाहरूलाई दिनु सुरक्षाका हिसाबले गलत भएको सेयर विश्लेषक एवं विज्ञहरूले बताएका छन् । साधारण सेयर (आईपीओ)को नतिजाका लागि भन्दै मर्चेन्ट बैंकहरूले निजी संघ‑संस्थाहरूलाई सेयर लगानीकर्ताका डिम्याट अकाउन्ट दिँदा सुरक्षा जोखिम बढ्ने उनीहरूको बुझाइ छ ।
सेयर विश्लेषक रविन्द्र भट्टराई डिम्याट खाता लगानीकर्ताका लागि अति संवेदनशील व्यक्तिगत विवरण भएकाले निजी संघ‑संस्थालाई दिन नहुने बताउँछन् । ‘यसको दुरुपयोगले लगानीकर्ताको लगानीसम्बन्धी गोपनीयता भताभुंग हुनसक्छ, लगानी रणनीतिहरु प्रभावित हुनसक्छन्, खाताहरु ह्याक हुन सक्छन् र सेयर चोरी हुनसक्छ,’ उनी भन्छन्, ‘सेयर बाँडफाँड भएपछि आवेदकहरूले परेको/नपरेको थाहा पाउन खोज्नु स्वाभाविक हो तर लगानीकर्ताको सम्पूर्ण विवरण डिम्याट खातामा हुने भएकाले निजी संघ‑संस्थालाई दिनु गलत हुन्छ, नियामक निकायले यसको विकल्प खोज्नुपर्छ ।’ अति गोप्य हुनुपर्ने लगानीकर्ताको संवेदनशील विवरणको सुरक्षामा नियामक निकायले ख्याल गर्नुपर्ने उनको भनाइ छ ।
धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ ले धितोपत्रको बाँडफाँड गरेको दिन वा भोलिपल्टसम्ममा निष्कासन तथा बिक्री प्रबन्धकले धितोपत्र बोर्ड, धितोपत्र बजार तथा सर्वसाधारणलाई जानकारी गराउनुपर्ने व्यवस्था गरेको छ । तर, यस्ता विवरण निजी अनलाइन, व्यक्ति तथा संस्थालाई वितरण गर्ने भन्ने कहीँ पनि उल्लेख छैन । ‘त्यसकारण लगानीकर्ताका संवेदनशील व्यक्तिगत विवरण यसरी छरपष्ट पार्ने कार्य उचित हुन सक्दैन,’ विश्लेषक भट्टराई भन्छन्, ‘यस्ता कार्य तत्काल बन्द गरिनुपर्छ ।’
केसीएल अस्ट्युट लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई पनि निजी संघ‑संस्थालाई डिम्याट अकाउन्ट दिन ठिक नहुने बताउँछन् । ‘विगतमा जस्तो अहिले लगानीकर्ताको डिटेल नै दिने गरेको पाइँदैन,’ उनी भन्छन्, ‘तर लगानीकर्ताको कुनै पनि विवरण निजी संघ‑संस्थालाई ठिक होइन ।’ केसीएल अस्ट्युट नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको अनुमति लिएर लगानी व्यवस्थापकको काम गरिरहेको संस्था हो ।
मनपरी ढंगले लगानीकर्ताको विवरण बाँड्दा तत्कालै कुनै सुरक्षा जोखिम नदेखिए पनि सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी)को डेटा बेस ह्याक गरेर लगानीकर्ताको डिटेल लिने र सेयर चोरी गर्ने सम्भावना रहने उनको बुझाइ छ । ‘यस विषयमा नियामक धितोपत्र बोर्ड गम्भीर हुनुपर्छ,’ उनले भने, ‘लगानीकर्ताको डेटा सुरक्षाको विषय नियामकको नियमन क्षमतासँग जोडिएको हुन्छ ।’
लगानीकर्ताको व्यक्तिगत विवरणमाथिको खेलवाड नौलो विषय भने होइन । नियामक, सिडिएस र मर्चेन्ट बैंकहरूको जानकारीमै यस्ता काम भइरहेका छन् । सिडिएससीका निमित्त प्रमुख कार्यकारी अधिकृत कञ्चन सापकोटा विगतमा लगानीकर्ताका सबै डेटा दिने गरिएकोमा अजोड इन्स्योरेन्सको साधारण सेयर बाँडफाँडपछि डिम्याट अकाउन्ट नम्बर र परेको/नपरेको सूचनामात्र दिने गरिएको बताउँछिन् । ‘अहिले हामीले सबै सूचना दिएका छैनौँ,’ उनले भनिन्, ‘व्यक्तिगत डेटा दिनु राम्रो होइन, नियामकबाट निर्देशन आयो भने तत्कालै बन्द गर्छौं ।’
सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिना कसैको पनि व्यक्तिगत डेटा निजी कम्पनीलाई दिन नहुनेमा सहमत देखिन्छन् । ‘त्यसमा पनि यस्ता डेटा एसएलसी या एसइइको डेटा जस्तो होइन,’ उनी भन्छन्, ‘विगतमा जस्तो सबै डेटा नदिइएकाले त्यति चुनौती नहोला तर सम्पत्तिसँग जोडिएको व्यक्तिगत विवरण निजी संघसंस्थालाई दिनु ठिक होइन ।’ यद्यपि, आफ्नो सेयर परेको नपरेको तत्काल थाहा पाउने लगानीकर्ताको अधिकार कुण्ठित नहुने गरी विकल्प खोज्नुपर्ने या त त्यस्ता विकल्पबारे लगानीकर्तालाई जानकारी गराउनुपर्ने उनले बताए ।
‘पहिल्यैदेखि दिँदै आएकाले निरन्तरता दिएका हौँ, नियामक निकायले लिने निर्णयअनुसार अघि बढ्छौँ, लगानीकर्ताको विवरण निजी संघसंस्थालाई नदिनु नै सुरक्षित हुन्छ ।’
अजोड इन्स्योरेन्सको सर्वसाधारण सेयर बिक्री प्रबन्धकको जिम्मा पाएको एनआईबीएल एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मेक थापा अजोडको सर्वसाधारण सेयरको विवरण दिँदा डिम्याट अकाउन्ट र परेको/नपरेको मात्र दिइएको बताए । ‘जस्तो निर्देशन आयो, सोही अनुसार गरेका छौँ,’ उनले भने, ‘पहिल्यैदेखि दिँदै आएकाले निरन्तरता दिएका हौँ, नियामक निकायले लिने निर्णयअनुसार अघि बढ्छौँ, लगानीकर्ताको विवरण निजी संघसंस्थालाई नदिनु नै सुरक्षित हुन्छ ।’
धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना पनि ‘परम्परा’लाई निरन्तरता दिइएको बताउँछन् । ‘सबै सूचना दिनुहुन्न भनेर अकाउन्ट नम्बर र परे/नपरेको जानकारी मात्र दिने निर्णय गरेका थियौँ, अजोडको हकमा त्यही लागू भयो,’ उनी भन्छन्, ‘नदिन सकिन्छ ।’ धितोपत्र ऐन र धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ को अधिनमा रही सर्कुलर जारी गर्न सकिने उनले बताए । ‘विगतमा पनि उठेको कुरा हो यो, अहिले फेरि उठेको छ,’ ढुंगाना भन्छन्, ‘लगानीकर्ताका व्यक्तिगत विवरण सुरक्षित राख्नु हाम्रो दायित्व हो, सरोकारवालासँग छलफल चलाएर नियमन गर्न सकिन्छ ।’
उनले लगानीकर्ताले पनि यस्ता विषयमा ख्याल गर्नुपर्ने बताए । सामाजिक सञ्जालमा कसैले मागेको भरमा डिम्याट खाता दिने र सेयर परेको/नपरेको थाहा पाउन हतारो गर्ने प्रवृत्तिले समस्या भएको अध्यक्ष ढुंगानाको तर्क छ । ‘आफ्ना कुन‑कुन विवरण अरुलाई दिन हुँदैन, कुन‑कुन विवरणको भ्यालु कति छ भन्ने लगानीकर्ताले पनि बुझ्नुपर्छ,’ उनी भन्छन्, ‘लगानीकर्ता पनि सचेत हुनुपर्छ, लहैलहैमा केही पनि गर्नु हुँदैन ।’
सेयर परेको भए बैंकले पैसा काटेर मोबाइलमा म्यासेज पठाउने र इन्टरनेट बैंकिङ सुविधा पनि हुने भएकाले लगानीकर्ताले हतारमा आफ्ना सूचना अरुलाई बाँड्ने काम गर्नै नहुने उनको सुझाव छ । सेयर परेको हेर्न हतार भए बिक्री प्रबन्धकको बेवसाइटमा गएर हेर्न सकिने अध्यक्ष ढुंगानाले बताए । जसरी बैंक खाता कसैलाई दिइँदैन, त्यसैगरी डिम्याट खाता पनि कसैलाई दिन नहुने उनको भनाइ छ ।
प्रकाशित समय : २१:१६ बजे


















