global ime bank Long Banner Ad

गृहपृष्ठ च्यांग्रा लिन हप्तौँ लगाएर हिमालपारिको यात्रा

च्यांग्रा लिन हप्तौँ लगाएर हिमालपारिको यात्रा

च्यांग्रा लिन हप्तौँ लगाएर हिमालपारिको यात्रा

दसैंलाई च्यांग्रा लिन यहाँका व्यापारी बर्सेनि हिमालपारिको जिल्ला मुस्ताङ छिर्छन् । हप्तौँ लगाएर च्यांग्रा भित्र्याउँछन् । यसपालि पनि कतिले च्यांग्रा ल्याइसके भने कोही बाटैमा छन् । व्यापारी अम्मरबहादुर क्षत्री र लक्ष्मण खड्का च्यांग्रा लिएर आजै बागलुङ आइपुगेका छन् । ‘१८ गते गएको बल्ल आज आइपुगियो,’ क्षत्रीले भने । जोमसोमदेखि दुई दिनको बाटोमा पर्ने चमर भन्ने ठाउँमा पुगेर च्यांग्रा ल्याएको उनको भनाइ छ ।

क्षत्री र लक्ष्मण मिलेर १४५ च्यांग्रा जिल्लामा भित्राएका छन् । च्यांग्रा लिन यहाँका २० भन्दा बढी व्यापारी मुस्ताङ पुगेको क्षत्रीले बताए । लामो बाटोमा कठिन यात्रा तय गरेर व्यापारीले च्यांग्रा ल्याउँछन् । यसपालि च्यांग्रा कम आएको र भाउ पनि महँगिएको छ । कोभिड- १९ कारण तिब्बतका व्यापारीले च्यांग्रा मुस्ताङ ल्याएका छैनन् । स्थानीय च्यांग्रा मात्र बजारमा आएको छ । मुस्ताङमा पालिने च्यांग्राले माग नधान्ने हुँदा ठूलो संख्यामा च्यांग्रा तिब्बतबाट भित्रने गर्थ्यो ।

‘दसैंका बेला ३५/४० हजारसम्म च्यांग्रा मुस्ताङबाट बाहिरिन्थ्यो, अहिले ८/१० हजार मात्र आउँदैछ”, क्षत्रीले भने । उनका अनुसार च्यांग्राको भाउ पनि झण्डै पाँच हजारले बढेको छ । रोज्जा च्यांग्राको मूल्य ३४ देखि ३५ हजारसम्म पुगेको छ ।

गत वर्ष २९ हजारमा बिक्री भएको थियो । मासु प्रतिकिलो १४ सय पुगेको थियो । खरिदमै मूल्य बढी परेको व्यापारीको भनाइ छ । किसानको गोठबाट २७ हजार ५०० मा च्यांग्रा उठाएको क्षत्रीले बताए । च्यांग्रा कम हुनु, बढ्दो करजस्ता कारणले पनि च्यांग्रा महगिँदै गएको छ । व्यापारीको आउजाउमा पनि बढी खर्च हुन्छ । स्थानीय तहसहित ठाउँठाउँमा दस्तुर र कर तिर्नुपर्दा थप मर्का पर्ने गरेको व्यापारीको गुनासो छ ।

तीन वर्षमा १० हजारभन्दा बढीले च्यांग्राको भाउ बढेको अर्का व्यापारी महेन्द्र केसीले बताए । केसीले पनि पाँच वर्षदेखि च्यांग्राको कारोवार गर्दै आएका छन् । महँगो परेपनि दसैंका बेला च्यांग्राको मासु उपभोक्ताको रोजाइमा पर्ने गरेको उनको भनाइ छ । केसीको मासु पसलसमेत छ ।

च्यांग्राको व्यापारबाट पहिलेपहिले जस्तो कमाइ हुन छाडेको व्यापारी बताउँछन् । एउटा च्यांग्रामा एक/दुई हजारसम्म फाइदा राखेर बेच्ने गरेका छन् । बागलुङमा बर्सेनि झण्डै दुई हजार च्यांग्रा भित्रिन्छ । यो वर्ष भने त्यो संख्या घट्ने भएको छ ।

हिमाली हावापानीमा जडीबुटी खाएर हुर्केको हुनाले च्यांग्रा स्वादिष्ट र स्वस्थकर मानिन्छ । उपभोक्ताले दशैँमा च्यांग्राको मासु खोजीखोजी उपभोग गर्छन् । मुस्ताङबाट झारिने च्यांग्रा गण्डकी प्रदेशका विभिन्न जिल्ला हुँदै काठमाडौँसम्म पुर्‍याइन्छ ।

राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले व्यापारीले उपभोक्ताको माग पूरा गर्न दुःख-सुख गरेर दसैंमा च्यांग्रा ल्याउने गरेको बताए । ‘हिमाली जिल्ला पुगेर ल्याउनुपर्छ, खर्च बढी हुन्छ,’ उनले भने, ‘महँगो त छ, फेरि व्यापारीले पनि अलिअलि नाफा निकाल्नुपर्‍यो ।’ (रासस)

प्रकाशित समय : २३:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु