गृहपृष्ठ नेपालको आर्थिक वृद्धिदर सून्य प्रतिशतः आईएमएफ
नेपालको आर्थिक वृद्धिदर सून्य प्रतिशतः आईएमएफ
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर सून्य प्रतिशतमा सीमित भएको जनाएको छ, यसको अर्थ नेपालको अर्थतन्त्र अडस्फीतिको चरणमा पुगेको छ । सून्य तहको आर्थिक वृद्धिले अर्थतन्त्रमा गम्भीर मन्दीको संकेत गर्छ, यस्तो अवस्थामा नागरिकका आय विस्तार ऋणात्मक भएको हुन्छ ।
यो विश्व बैंकले केही दिनअगाडि जारी गरेको प्रतिवेदनमा गरिएको अनुमानभन्दा पनि कम हो । विश्व बैंकले केही दिनअघि सार्वजनिक गरेको दक्षिण एसियाली आर्थिक परिदृष्यमा सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर ०.२ प्रतिशत रहेको जनाएको थियो ।
मुद्रा कोषले नेपालकै केन्द्रीय तथ्यांक विभागका आर्थिक वृद्धिका ऐतिहासिक तथ्यांकहरूको विश्लेषण गरेर वृद्धि प्रक्षेपण गर्ने भएकाले यसलाई केही यथार्थपरक मानिन्छ । मुद्रा कोषले मंगलबार सार्वजनिक गरेको ‘वर्ल्ड इकोनोमिक आउटलूक’को अद्यावधिक संस्करणमा सन् २०२०मा नेपालको आर्थिक वृद्धिदर सून्य (०.००) प्रतिशत रहेको उल्लेख गरिएको छ । यो गत अप्रिलमा जारी गरिएको बैंककै आर्टिकल फोर मिसनको प्रतिवेदन भन्दा निकै कम हो भने जुन महिना जारी ‘वर्ल्ड इकोनोमिक आउटलूक’ का अनुमान र मे महिनामा नेपालका लागि मुद्रा कोषका अर्थशास्त्रीहरूले गरेको अद्यावधिक तथ्यांकीय अपडेटभन्दा पनि कम हो ।
मुद्रा कोषले गत जुनमा नेपाल सरकारकै अनुमानकै तहमा रहेर सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर २.५ प्रतिशत रहन्छ भनेकोमा मेमा नेपालका लागि तयार पारिएको एक स्थितिपत्रमा वृद्धिदर १ प्रतिशतमा सीमित हुने उल्लेख थियो । मुद्रा कोषले सन् २०२० उल्लेख गरेको भए पनि यो नेपालको आर्थिक वर्ष क्यालेन्डरअनुसारको तथ्यांक हो ।
मुद्रा कोषले चालू आर्थिक वर्ष (सन् २०२१)मा भने नेपालको आर्थिक वृद्धिदरमा सुधार आइ २.५ प्रतिशत पुग्ने जनाएको छ, यो मुद्रा कोषकै जुन महिनाको ‘वर्ल्ड इकोनोमिक आउटलूक’ र मेमा गरिएको प्रक्षेपणभन्दा कम हो भने विश्व बैंकले गरेको अनुमानभन्दा निकै बढी हो ।
विश्व बैंकले यस वर्ष नेपालको वृद्धिदर ०.६ प्रतिशतमात्र रहने मेमा गरिएको गरिएको समीक्षामा सन् २०२१ मा नेपालको वृद्धिदर ३.५ प्रतिशत कामय हुने उल्लेख थियो ।
मुद्रा कोषका अनुसार गत आर्थिक वर्षमा ६ प्रतिशतमा रहेको मुद्रास्फीति चालू आर्थिक वर्षमा पनि सोही तहमै रहनेछ भने नेपालको चालू खाता घाटा बेपत्तै बढेर कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ७ प्रतिशत पुग्नेछ । चालू खाता देशको वस्तु तथा सेवाको कुल आम्दानी र खर्चको विवरण हो, चालू खाता घाटा बढ्नु भनेको देशले कमाउने भन्दा बाहिर तिर्ने रकम बढी भएको सूचक हो ।
मुद्रा कोषले समग्र विश्वको आर्थिक वृद्धिदरका प्रक्षेपणमा संशोधन गरी सन् २०२० मा विश्वव्यापी अर्थतन्त्रमा गहिरो मन्दी जारी रहने भन्दै यस वर्ष विश्व वृद्धिदर ४.४ प्रतिशतले संकुचित हुने जनाएको छ, यो गत जुन महिनाको अनुमानभन्दा ०.८ प्रतिशत बढीको सकारात्मक अनुमान हो । गत जुन महिनाको ‘वर्ल्ड इकोनोमिक आउटलूक’मा यस वर्ष विश्व अर्थतन्त्र ५.२ प्रतिशतले संकुचित हुने अनुमान गरिएको थियो ।
विश्व अर्थतन्त्रमा क्रमिक सुधारका संकेत देखिएकाले यो संशोधन गरिएको मुद्रा कोषले जनाएको छ, विशेषतः तेस्रो चाैमासिक अवधिपछि बलियो आर्थिक बहालीका संकेत देखिएको मुद्रा कोषले जानकारी दिएको छ ।
मुद्रा कोषका अनुसार उदाउँदा अर्थतन्त्रमध्ये भारतको अर्थतन्त्र सन् २०२० मा १०.३ प्रतिशतले, ब्राजिलको ५.८ प्रतिशतले, रुसको ४.१ प्रतिशतले र दक्षिण अफ्रिकाको ८ प्रतिशतले संकुचित हुँदा चीनले भने १.९ प्रतिशतको सकारात्मक वृद्धिदर हासिल गर्नेछ ।
प्रकाशित समय : ००:१५ बजे


















