गृहपृष्ठ सीमा विवाद समाधान कूटनीतिक माध्यमबाट : प्रधानसेनापति
सीमा विवाद समाधान कूटनीतिक माध्यमबाट : प्रधानसेनापति
प्रधानसेनापति प्रभुराम शर्माले सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने बताएका छन् । उनले सीमा सुरक्षा र व्यवस्थापनमा सीमा क्षेत्रका नागरिकलाई पनि साथमा लिएर अघि बढ्नुपर्ने धारणा राखेका छन् । ‘सेनाले सीमाको विषयलाई नजिकबाट नियालिरहेको छ,’ जंगी अड्डाले आयोजना गरेको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनसम्बन्धी गोष्ठी समापनका क्रममा प्रधानसेनापति शर्माले भने ।
प्रधानसेनापति शर्माले आकाशको सीमालाई पनि उत्तिकै संवेदनशीलताका साथ रेखदेख गर्नुपर्ने अवस्था आएको बताएका छन् । चारवटै सुरक्षा निकायले सीमा सुरक्षाप्रति चनाखो हुनुपर्नेमा उनको जोड छ । उनले सीमा क्षेत्रमा क्रियाशील निकायहरुबीच स्पष्ट जिम्मेवारी तोक्न आवश्यक रहेको पनि औंल्याए ।
प्रधानसेनापति शर्माले सीमा सुरक्षा र सीमा व्यवस्थापन प्रभावकारी रूपमा गर्न एकीकृत सीमा व्यवस्थापन नीति, सीमा सुरक्षामा डेडिकेटेड फोर्सको विकास, सीमा क्षेत्रका नागरिकलाई सीमा सुरक्षा र व्यवस्थापनमा सँगसँगै लैजानुपर्ने र सीमा विवाद कूटनीतिक माध्यमबाट गर्नुपर्नेलगायतका सुझाव दिएका छन् ।
गोष्ठीमा परराष्ट्र सचिव भरतराज पौड्यालले सीमा विवाद समाधानका लागि भारतसँग प्रयास भइरहेको जानकारी गराएका थिए ।
गृह मन्त्रालयका अनुसार सीमा क्षेत्रमा सरकारका विभिन्न निकाय र निजी क्षेत्र गरी ३ दर्जन क्षेत्र क्रियाशील छन् । सबैलाई एउटै सीमा नीतिमा राखेर परिचालन गर्ने ऐन भने सरकारले ल्याउन सकेको छैन ।
प्रकाशित समय : १३:३१ बजे


















