गृहपृष्ठ ‘खेलाडी राष्ट्रको गहना हुन्’
‘खेलाडी राष्ट्रको गहना हुन्’
प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले खेलाडी राष्ट्रको गहना रहेको बताएका छन् । प्रदेश नम्बर १ खेलकुद विकास बोर्डद्वारा आज यहाँ आयोजित प्रदेशबाट साफ, एसियन तथा ओलम्पिक खेलकुदमा सहभागी खेलाडीलाई सम्मान गर्दै उनले सरकारले खेलाडीलाई उच्च प्राथमिकता एवं सम्मान दिएको बताए ।
मुख्यमन्त्री राईले खेलकुदको माध्यमबाट विश्वमा नेपाललाई चिनाउने कार्यमा खेलाडी सफल भएकोमा खुसी प्रकट गरे । उनले प्रदेश सरकारले हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रममा खेलकुदको विकासका लागि आवश्यक पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरेको जानकारी दिए ।
सामाजिक विकासमन्त्री राजन राईले प्रदेशमा दक्ष खेलाडी उत्पादनका लागि प्रशिक्षकलाई विशेष तालिमलगायत खेलकुदका विभिन्न कार्यक्रम आयोजना गरिएको जानकारी दिए । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले खेललाई व्यावसायिकरूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।
सो अवसरमा प्रदेशबाट विभिन्न समयमा ओलम्पिक खेलमा सहभागी नौ, एसियन खेलमा ३६ र साफमा सहभागी १५० खेलाडीलाई सम्मान गरिएको थियो । नोबेल मेडिकल कलेज विराटनगर र काठमाडौँ मेडिकल कलेजले सम्मानित खेलाडीलाई आगामी पाँच वर्षसम्म निःशुल्क केविनसहित स्वास्थ्य उपचार सेवा उपलब्ध गराउनुका साथै परिवारका सदस्यलाई ५० प्रतिशत छुटमा सेवा दिने सम्झौता भएको जानकारी बोर्डका सदस्य सचिव हंशराज वाग्लेले बताए ।
प्रकाशित समय : ०३:२१ बजे



















