गृहपृष्ठ ‘संविधानको कार्यान्वयन र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न पाँचदलीय गठबन्धन’
‘संविधानको कार्यान्वयन र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न पाँचदलीय गठबन्धन’
गृहमन्त्री बालकृष्ण खाणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र वैदेशिक सम्बन्ध सन्तुलनका लागि भएको बताएका छन् । उनले वर्तमान सरकारले निर्वाचनमा भाग नलिएका दललाई समेत लोकतान्त्रिक धारमा ल्याउन सरकारले प्रयत्न गरिरहेको जानकारी दिए ।
नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. २ ले शनिबार बुटवलमा आयोजना गरेको स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिको सम्मानमा गृहमन्त्री खाणले नेपाल कुनै पनि अन्तर्राष्ट्रिय सैन्य गतिविधिमा सहभागी नहुने पनि प्रष्ट पारे । सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडकमा पर्ने सिद्धबाबा क्षेत्रको सडक दुरावस्थाका कारण हजारौँ यात्रुले सास्ती भोग्नुपरेको र सयौँले ज्यानसमेत गुमाएकाले त्यसलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण आगामी आर्थिक वर्षदेखि अगाडि बढाइने र पूर्व-पश्चिम राजमार्गको दाउन्नेमा पनि सुरुङमार्ग निर्माणको काम सुरु हुने उनले जानकारी दिए ।
स्थानीय तहको निर्वाचनले कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाएको र आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा पनि पार्टीलाई ठूलो र बलियो बनाउने गरी काम गर्न नेता कार्यकर्तालाई मन्त्री खाणले आग्रह गरे ।
प्रकाशित समय : २२:५० बजे



















