गृहपृष्ठ सुदूरपश्चिममा नबिल एसएसई प्रमाणपत्र कार्यक्रमको सुरुआत
सुदूरपश्चिममा नबिल एसएसई प्रमाणपत्र कार्यक्रमको सुरुआत
नबिल बैंकले यसै वर्षदेखि सञ्चालन गरेको गैरनाफामुलुक कार्यक्रम नबिल स्कुल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसर्ई) अन्तर्गतको प्रमाणपत्र कार्यक्रम सुदूरपश्चिममा सुरुआत भएको छ । सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए कलेज)सँगको सहकार्यमा नबिल एसएसईका प्रविणतापत्र कक्षाहरु सुरु भएको हो ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व रेक्टर प्रा.डा हेमराज पन्तले शुक्रबार एक समारोहकाबीच कार्यक्रमको सुरुवात गरे ।
कार्यक्रममा पन्तले अचेल संस्थाहरुको फाइनान्सियल अडिट जत्तिकै महत्वपूर्ण सोसियल अडिट पनि भएकाले नबिल बैंकले सुरु गरेको सामाजिक उद्यमशिलता कार्यक्रमप्रति आभार व्यक्त गरे । यस्तै नबिल बैंकका सुदूरपश्चिम तथा कर्णाली प्रदेश प्रमुख टेकराज भट्टले बैंकले यसवर्षबाट दीर्घकालिन सोचका साथ यो कार्यक्रम सुरु गरेको र यसले सयौं युवाहरुलाई उद्यमशील बनाउँन मद्दत पुग्ने विश्वास गरे ।
यसअघि विभिन्न सामाजिक क्रियाकलापमार्फत सामाजिक उत्तरदायित्व निभाउँदै गर्दा त्यो क्षणभरलाई मात्रै हुने बताउँदै उनले यसपल्ट युवाहरुलाई नै उद्यमशील बनाउन यो कार्यक्रम ल्याएको बताए ।
वर्षभरि नै चल्ने यस कार्यक्रममा सहभागिताका लागि एसपीए कलेजले यसअघि नै खुला आवेदन आह्वान गरेको थियो । जसमा १०० भन्दा बढी आवेदन प्राप्त भएका थिए । जसबाट पहिलो चरणमा प्रमाणपत्र कार्यक्रमका लागि २२ जनाको सहभागिता रहेको छ ।
आवेदन दिएका बाँकी आवेदकलाई पनि क्रमशः कार्यक्रममा समावेश गरिदै लगिने कार्यक्रम संयोजक तथा एसपीएका अध्यापक प्रेमराज जोशीले बताए । समाजमा सकरात्मक परिवर्तन ल्याउने, सामाजिक प्रभाव श्रृजना गर्ने, कुनैपनि परियोजनाहरु वा सोचलाई उद्यममा रुपमान्तरण गर्न वा विकसित गर्न सहयोग गर्नु र जटिल सामाजिक समस्या समाधान गर्न सामूहिक पहल गर्नु नबिल एसएसई कार्यक्रमको लक्ष्य रहेको नबिल बैंक रातोपुल शाखाका प्रबन्धक तपेन्द्र कुँवरले जानकारी दिए ।
कार्यक्रममार्फत सामाजिक उद्यमशिलता सम्बन्धि विभिन्न विषयवस्तुहरुमा प्रयोगात्मक र व्यवहारिक ढंगले प्रशिक्षणमा सहभागी गराइनेछ । तीन महिनाको प्रशिक्षणपछि सहभागीहरु उद्यमशील सोच र लगानी योग्य व्यवसायिक योजना गर्न सक्ने हुने विश्वास एसपीए कलेजका प्रमुख योगराज उपाध्यायले विश्वास व्यक्त गरे ।
कलेज प्रमुख उपाध्यायले नबिल बैंकले यो कार्यक्रमसँग सहकार्यको अवसर दिएकोमा बैंक परिवारप्रति कृतज्ञता ज्ञापन गरे । यो कार्यक्रमका लागि नबिल बैंकले नेपालका सातैवटा प्रदेशका विभिन्न सातवटा कलेजहरुसँग साझेदारी गरेको छ । सुदूरपश्चिमका लागि यस क्षेत्रको शैक्षिक धरोहर एसपीए कलेजलाई नबिल बैंकले रोजेको हो ।
नबिल बैंकले यस कार्यक्रममार्फत वर्षमा ७ सय तालिम प्राप्त जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको छ ।
प्रकाशित समय : १५:५७ बजे



















