गृहपृष्ठ अमेरिकासँगको आणविक वार्ता केही दिनमा सुरू हुन्छ : इरान
अमेरिकासँगको आणविक वार्ता केही दिनमा सुरू हुन्छ : इरान
इरानले अमेरिकासँग आणविक वार्ता केही दिनमा पुन: सुरू हुने बताएको छ । इरान र युरोपेली संघले शनिबार संयुक्त रूपमा उक्त घोषणा गरेका हुन् ।
इरान र संयुक्त राज्य अमेरिकाबीच रोकिएको आणविक सम्झौतालाई पुनर्जीवित गर्न अप्रत्यक्ष वार्ता पुन: सुरु गर्न तेहरान सहमत भएको इरानी विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियानसँगको संयुक्त टेलिभिजन पत्रकार सम्मेलनमा संघकाे विदेश नीति प्रमुख जोसेप बोरेलले उक्त घोषणा गरेका हुन् । वार्ता शाीघ्र र तत्काल पुन: सुरु हुने तथा बाँकी रहेका मुद्दामा समाधानको प्रयास हुने उनले बताए ।
उक्त वार्ता भिएनामा नहुने र त्यो राष्ट्रसंघीय सुरक्षा परिषद्का स्थायी सदस्य बेलायत, चीन, फ्रान्स, रूस र जर्मनी सम्मिलित (पी फोर प्लस वान) ढाँचामा पनि नहुने जनाउँदै उनले सम्भवत: खाडी राष्ट्रको नजिक वा खाडी राज्यमा हुने बताए । 'हामीले आगामी दिनहरूमा वार्ता पुनः सुरू गर्ने र गतिरोध तोड्ने अपेक्षा गरेका छौँ । तीन महिना भइसक्यो र हामीले कामलाई गति दिनु आवश्यक छ । म तेहरान र वासिंगटनमा भएको निर्णयबाट धेरै खुसी छु,' बोरेलले भनेका छन् ।
विदेशमन्त्री अमिर अब्दुल्लाहियानले पनि बोरेलसँग इरानका मागहरूका बारेमा आफूले वार्ता गरेको र निकट भविष्यमा अमेरिकासँग वार्ता पुनः थाल्न इरान तयार रहेको बताए । संयुक्त विस्तृत कार्य योजना (जेसिपीओए)बाट इरानी जनताको आर्थिक लाभ इरानी सरकारको लागि महत्वपूर्ण रहेको तर इरानको आर्थिक हितको सुरक्षा नगर्ने कुनै पनि विषय राष्ट्रपति इब्राहिम रायसीको सरकारलाई स्वीकार्य नहुने स्पष्ट गर्र्दै उनले अमेरिकासँग शीघ्र वार्ता हुने र त्यस क्रममा सबै मतभेद एवं समस्या समाधानको प्रयास गरिने बताए । अमेरिकी पक्षले पनि यसपटक यथार्थपरक र निष्पक्ष कदम चाल्ने विश्वास उनले व्यक्त गरे ।
यसैबीच, संघका उच्च कूटनीतिज्ञ बोरेलसँगको भेटमा इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली शमखानीले इरान आणविक वार्तामा बलियो, स्थिर र भरपर्दो सम्झौता खोजिरहेको स्पष्ट गरेका इरानको आधिकारिक समाचार समिति इर्नाले जनाएको छ । गैरकानूनी एवं इरानविरोधी प्रतिबन्ध हटाउने र दिगो आर्थिक हित सुनिश्चित नगर्ने सम्झौताबाट इरानलाई कुनै फाइदा नहुने उनको कथन थियो ।
इरानले जुलाई २०१५ मा विश्व शक्तिहरूसँग जेसीपीओएमा हस्ताक्षर गरेको थियो । तेहरानमाथि लगाइएका प्रतिबन्ध हटाउने र त्यसको बदलामा आफ्नो आणविक कार्यक्रममा केही प्रतिबन्ध लगाउन उसले स्वीकार गरेको थियो । यद्यपि तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले मे २०१८ मा संयुक्त राज्य अमेरिकालाई जेसीपीओएबाट हटाएर तेहरानमाथि एकपक्षीय प्रतिबन्ध पुन: लागू गरेका थिए ।
अप्रिल २०२१ देखि इरान र जेसीपीओएपक्षबीच सम्झौतालाई पुनर्जीवित गर्न भियनामा आठ चरणको वार्ता भएको थियो । उक्त वार्ता गत मार्चमा स्थगन भएपछि त्यसले अनिश्चितता बढाएको थियो ।
प्रकाशित समय : २३:४९ बजे



















