गृहपृष्ठ प्रहरीमा नयाँ इतिहास, चार महिला एसएसपी एकैपटक डीआईजी बन्दै
प्रहरीमा नयाँ इतिहास, चार महिला एसएसपी एकैपटक डीआईजी बन्दै
गृह मन्त्रालयले गए राति नेपाल प्रहरीका १७ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको छ । बढुवा समितिको बैठकले उनीहरूलाई सिफारिस गरेको हो । जसमध्ये चार जना महिला एसएसपी डीआईजी बढुवाको सिफारिसमा परेका छन् ।
नेपाल प्रहरीको इतिहासमा पहिलो चोटी एकैपटक चार महिला डीआईजीको बढुवामा परेका हुन् । अब उनीहरु सम्भवतः एकैपटक डीआईजी बन्नेछन् । जसमा किरण बज्राचार्य, मीरा चौधरी, दुर्गा सिंह र किरण राणा सिफारिस भएका हुन् ।
बढुवामा बज्राचार्य छैठौं नम्बरमा ,चौधरी नवौं, सिंह १६औं र १७ नम्बरमा राणा सिफारिस भएकी छिन् । उनीहरु २०५१ सालमा एकसाथ इन्स्पेक्टरमा भर्ना भएका हुन् । हालका आईजीपी धिरजप्रताप सिंहपछी यही ब्याचबाट प्रहरी महानिरीक्षक बन्नेछ ।
नेपाल प्रहरीमा अहिले पूजा सिंह एआईजी छन् । यसअघि पार्वती थापा र बिमला थापा नेपाल प्रहरीको डीआईजी बन्न सफल भएका थिए । प्रहरीमा हालसम्म महिला आईजीपी नियुक्त भएका छैनन् । उनीहरु मध्येबाट कुनै एक आईजीपी बन्न सफल भए प्रहरीमा फेरि अर्काे इतिहास बन्नेछ ।
प्रकाशित समय : १७:२९ बजे



















