गृहपृष्ठ हुम्लाका ५७ विद्यार्थीमा देखियो ठेउला
हुम्लाका ५७ विद्यार्थीमा देखियो ठेउला
हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको एक विद्यालयको छात्रबासमा बस्दै आएका ठुलो सङख्याका विद्यार्थीलाई ठेउला (चिकेनफक्स) रोग देखिएको आशंका गरिएको छ । वडा नम्बर ४ को याल्वाङ गाउँको महाबौद्ध माध्यमिक विद्यालयका विद्यार्थीमा ठेउलासँग मिल्ने लक्षण देखिएकाले उक्त रोगको आशंका गरिएको हो ।
स्वास्थ्यसेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले एक विद्यार्थीमा देखिएकोे ठेउला अन्य ५७ विद्यार्थीमा सरेको बताए । ‘विद्यार्थीमा लागेको रोगको लक्षण पूरै ठेउलासँग मिल्दोजुल्दो रहेको देखिएको हो,’ उनले भने । ती विद्यार्थीका अनुुहार, शरीर र पाखुुराभरि ठेउला जस्तै फोका आएका छन् । बिरामी विद्यार्थीको शरीरमा देखिएको लक्षण हेर्दा ठेउला भएको हुनसक्ने भएकाले उपचार गर्न र परीक्षणका लागि नमुना संकलन गर्न चिकित्सकको एक टोली विद्यालयतर्फ लागेको छ ।
चिकित्सकबाट परीक्षण गरेपछि त्यसको आधिकारिक पुष्टि हुने भन्दै बिरामी विद्यार्थीलाई आइसोलेसनमा राखिएको बताइएको छ । विद्यालयमा पुगेपछि बिरामी विद्यार्थीको उपचार र नमुना संकलनसँगै गरिने भएको छ ।
यसको जानकारी विश्व स्वास्थ्य संगठन र सुर्खेतस्थित रोग नियन्त्रण महाशाखालाई गराइसकिएको छ । स्वास्थ्य सेवा कार्यालयका अनुसार यो भाइरसबाट सर्ने सरुवा रोग भएका कारण अन्य मानिसमा सर्ने डर छ ।
प्रकाशित समय : ००:३१ बजे



















