गृहपृष्ठ गोपनीयता चोरी हुन नदिन तालिम आवश्यक : मुख्यमन्त्री राई
गोपनीयता चोरी हुन नदिन तालिम आवश्यक : मुख्यमन्त्री राई
नेपाल दूरसञ्चार प्राधिकरणले सुरक्षित रुपमा इन्टरनेट तथा सामाजिक सञ्जाल सञ्चालन गर्नेबारे प्रदेशका सांसद्हरुलाई प्रशिक्षण दिएको छ ।
विराटनगरमा दूरसञ्चार प्राधिकरणले इम्पावर ट्रेडिङ प्रालिको आयोजनामा प्रदेशसभाका सांसद्लाई सुरक्षित रुपमा इन्टरनेट र सामाजिक सञ्जाल कसरी प्रयोग गर्ने भन्नेबारे प्रशिक्षण दिएको हो । उक्त प्रशिक्षणमा प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई तथा ५० भन्दा बढी प्रदेशसभा सदस्य सहभागी थिए । सो अवसरमा मुख्यमन्त्री राईले इन्टरनेट र सामाजिक सञ्जाल सुरक्षित ढंगले चलाउन नजान्दा धेरै क्षति भोग्नुपरेको उल्लेख गर्दै गोपनीयता चोरी हुने भएकाले तालिम उपयोगी भएको बताए ।
तालिम प्रशिक्षक ऋषिराम गौतमले सहभागी प्रदेशसभा सदस्यलाई आफ्नो फेसबुक, ट्वीटर र अन्य पेजहरु मोबाइल तथा कम्प्युटरमा कसरी सुरक्षित ढंगले प्रयोग गर्ने भन्ने विधिबारे सिकाएका थिए । नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रायले बढ्दो साइबर थ्रेट र चुनौतीलाई ख्याल गरेर सबै प्रदेशसभा सदस्यलाई सुरक्षित तरिकाले इन्टरनेट र सामाजिक सञ्चालन चलाउने तरिका सिकाउन थालेको जानकारी दिए ।
तालिम संयोजक एवं इम्पावर ट्रेडिङ प्रालिका निर्देशक शम्भु पहाडीले बढ्दो साइबर असुरक्षा र सोसल मिडियामार्फत् दिइने गालीगलौजलगायत घटना दोहोरिन नदिन सुरक्षित तरिकाले इन्टरनेट र सामाजिक सञ्जाल प्रयोग गर्ने सीप हासिल गर्नु आवश्यक भएको उल्लेख गरे ।
प्रकाशित समय : ००:११ बजे



















