गृहपृष्ठ एसपीपीमा अमेरिकी दूतावासको दाबी नेपाली सेनाद्वारा खण्डन
एसपीपीमा अमेरिकी दूतावासको दाबी नेपाली सेनाद्वारा खण्डन

नेपालस्थित अमेरिकी दूतावासले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को प्रक्रिया तीन वर्षअघि नै पूरा भएको दाबी गरेपछि अन्योल झन् बढेको छ । दूतावासले बुधबार पत्रकार सम्मेलन गरेर नेपाली सेना र अमेरिकाको युटाहा नेसनल गार्डबीच साझेदारी कायम भइसकेको बताए लगत्तै नेपाली सेनाले त्यस्तो सम्झौता नभएको र भविष्यमा पनि नहुने स्पष्ट पारेको छ । त्यस्तै नेपाल सरकारले पनि त्यस्तो सम्झौता नगर्ने बताएको छ ।
नेपाली सेना र अमेरिकाको युटाह नेसनल गार्डसँग साझेदारी गर्न तयार पारिएको मस्यौदा सार्वजनिक भएपछि सञ्चारमाध्यम तथा संसद्मा नेपाल सरकारको स्पष्टीकरण मागिएको छ ।
असंलग्न परराष्ट्र नीतिविपरीत सैन्य गठबन्धनमा नेपाल सहभागी भए उम्कनै नसक्ने चंगुलमा फस्ने भन्दै दलका नेता, सांसद, भूराजनीतिक विषयका ज्ञाताहरूले सरकारको खबरदारी गरिरहेका बेला अमेरिकी राजदूतावासका अधिकारीहरूले भने त्यस्तो प्रक्रिया पूरा भइसकेको दाबी गरेका हुन् ।
उपनियोग प्रमुख मानुएल पी मिकलरले एसपीपीमा सामेल हुन नेपालले दुईपटक निवेदन दिएको दाबी गरे । उनले पत्रकारहरूसँग भने, ‘नेपालले सन् २०१५ र २०१७ मा निवेदन दिएपछि हामीले सन् २०१९ मा स्वीकार गरेका हौं, नेपाली सेना र अमेरिकाको युटाहा नेसनल गार्डसँग साझेदारी कायम भएको छ ।’
दूतावासले एसपीपी प्रक्रिया पूरा भएको दाबी गरेपछि बुधबार साँझ नेपाली सेनाले विज्ञप्ति जारी गरी ‘एसपीपीसम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सरकार वा सेनासँग नगरेको र त्यस्तो प्रक्रियासमेत नभएको’ स्पष्ट पारेको छ ।
प्रकाशित समय : १५:१२ बजे