global ime bank Long Banner Ad

गृहपृष्ठ यार्सागुम्बाको मूल्य २१ लाख, तर घट्याे उत्पादन

यार्सागुम्बाको मूल्य २१ लाख, तर घट्याे उत्पादन

यार्सागुम्बाको मूल्य २१ लाख, तर घट्याे उत्पादन

रुकुम (पूर्व)मा वर्षैपिच्छे यार्सागुम्बा उत्पादन घट्दो क्रममा रहेको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिकाको माथिल्लो क्षेत्रका पाटनहरुमा बहुमूल्य जडीबुटी यार्सा पाइन्छ ।

पाँच-सात वर्षपहिले पाटनमा प्रशस्त मात्रामा यार्सा पाइने र मानिसहरुले पनि त्यसैबाट जीविकोपार्जन गर्दै आएका थिए । केही वर्षयता भने यार्सा उत्पादन घटेको मैकोट, पेल्लाका स्थानीयवासीले बताएका छन् । मैकोटमा वीरेन्द्र बुढाले पहिलेदेखि नै स्थानीयवासीले संकलन गरेका यार्सा खरिद गर्दै आएका छन् । सधैँका वर्षझैं यसपालि पनि उनी स्थानीयवासीबाट यार्सा खरिद गर्नका लागि पुपाल पाटन पुगेका थिए । तर, उत्पादन साह्रै नै घटेको पाएको उनले बताए । ८/९ वर्षअघि यही पुपाल र पुर्वाङ लगायतको पाटन क्षेत्रमा १५० किलो हाराहारीमा यार्सा संकलन हुने गरेकामा यस वर्षको मौसममा जम्मा १५/१६ किलो हाराहारी यार्सा उत्पादन तथा संकलन भएको बुढाले बताए ।

उनका अनुसार अहिले प्रतिकिलो यार्साको मूल्य २१ लाखसम्म पर्छ । तर, उत्पादन भने घटेकाे छ । अहिलेको उत्पादनलाई हेर्ने हो भने जिल्लामा सवा तीन करोड हाराहारी यार्सा संकलन भएको छ । उनी आफैँले पनि अहिले तीन केजी यार्सा संकलनको अनुमति लिएको बताउँदै यसको मूल्य ६५ देखि ७० लाख हुने बताए । उनका अनुसार एउटा यार्सालाई सात सयदेखि एक हजार २०० सम्म पर्ने गर्दछ । अहिले संकलन गरेको यार्सालाई चाइना, हङकङ या काठमाडौँमा लगेर बिक्री गर्ने योजना रहेको पनि उनले बताए । विगत वर्षहरुमा यार्सा धेरै भएर चीनसम्म लैजाँदा पनि बिक्री नहुने गरेको स्मरण गर्दै बुढाले अहिले भने यार्सा निकै कम मात्रामा संकलन भएको बताए ।

पुथाउत्तरगंगा गाउँपालिका-१, मैकोटकै समाज घर्तीले पनि यार्सा उत्पादन घटेको बताए । पाँच-सात वर्षअघि यार्सा संकलन गरेरै प्रतिव्यक्तिले ५० हजारदेखि सात/आठ लाखसम्म आम्दानी गर्ने गरेका थिए । अहिले १० हजारदेखि चार/पाँच लाखसम्म मात्र आम्दानी गर्ने गरेको उनको भनाइ छ ।

विगत वर्षमा यार्सा संकलनका लागि प्रवेश शुल्क लाग्ने गरेको थियो । प्रवेश शुल्क एक हजार ५०० देखि पाँच हजारसम्म लाग्ने गरेको थियो । कोभिडका कारण गएको दुई वर्षमा यार्सा संकलन नै बन्द गरिएको थियो । अहिले खुला गरिएको यार्सा सिजनमा प्रवेश नि:शुल्क गरिएको थियो । जेठको पहिलो साताबाट सुरु भई साउनको पहिलो सातासम्म चल्ने यार्सा सिजन अहिलेको वर्षमा भने जेठ पहिलो साताबाट सुरु भई अन्तिम साता सकिएको छ । यार्सा पाइन छोडेपछि पाटन उक्लिएका सबै गाउँ झर्ने क्रम जारी छ ।

पाटन क्षेत्रमा संरक्षणको अभाव, घोडा खच्चड र भेडाबाख्राको चरिचरन र जलवायु परिवर्तनका कारण यार्सा उत्पादन घट्दै गएको पुथाउत्तरगंगा गाउँपालिका-१, मैकाेटस्थित पृथा हिमालय माविका प्रधानाध्यापक हस्तिमान पुनले बताए । बर्सेनि यार्सा उत्पादन घट्दै जान थालेपछि यार्सा संकलन तथा बिक्रीवितरणबाटै जीवन निर्वाह गर्दै आएकाहरु समस्यामा परेका छन् । (रासस)

प्रकाशित समय : २१:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु