गृहपृष्ठ बजेटको प्राथमिकता : कृषि र आत्मनिर्भर अर्थतन्त्रमा जोड दिने संकेत
बजेटको प्राथमिकता : कृषि र आत्मनिर्भर अर्थतन्त्रमा जोड दिने संकेत
सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको तयारी गरेको छ । जेठ ७ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र जेठ १५ मा बजेट ल्याउने तयारी गरेको हो । बुधबार र बिहिबार प्रि-बजेटमाथि छलफल हुँदैछ ।
यसपटकको बजेटमा अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्र केन्द्रीत कार्यक्रम ल्याउने संकेत गरेको छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले भूमिगत तथा सतह सिँचाइ सुविधा विस्तार गर्ने, सहकारीमार्फत चक्लाबन्दी खेती विस्तार गर्नेलगायतका योजना सुनाएका थिए ।
अर्थमन्त्रीले संसदमा प्रस्तुत गरेको विनियोजन विधेयक, २०७९ को सिद्धान्त तथा प्राथमिकता अनुसार कृषि र उद्योगलाई बजेटले यस पटक जोड दिनेछ । अर्थमन्त्री शर्माका अनुसार यी क्षेत्रबाट आधारभूत वस्तुका उत्पादन बढाइने छ ।
अर्थमन्त्री शर्माले विनियोजन विधेयक, २०७९ को सिद्धान्त तथा प्राथमिकताको सुरुमै आगामी आर्थिक वर्षमा निर्वाचन सम्पन्न गर्ने उल्लेख गरेका छन् । अर्थात संघीय संसद र प्रदेशको निर्वाचन आगामी आर्थिक वर्षमा नै हुँदैछ ।
उनका अनुसार बजेट आयात घटाउने, निर्यात प्रवर्द्धन गर्ने र आत्मनिर्भर अर्थतन्त्र विकासमा केन्द्रित हुने भएको छ । यसका लागि विदेशी लगानी भित्र्याउने, निजी क्षेत्रमैत्री नीति ल्याउने, करको दायरा विस्तार गर्नेदेखि स्वदेशमै उत्पादन सम्भव भएको कृषिजन्य वस्तुको उत्पादनमा जोड दिइने अर्थमन्त्री शर्माले संसदमा उल्लेख गरे ।
खेतीयोग्य सबै जमिनको उपयोग, गर्ने, जमिनमा सामूहिक खेती प्रणालीलाई जोड दिइने भएको छ । औद्योगिक विकास, उद्योगको क्षेत्र बढाउने, औद्योगिक ग्राम बढाउने, उत्पादनमुलक उद्योग उत्पादन गर्न प्रोत्साहन दिइने समेत सरकारको तयारी छ ।
सडक पूर्वाधार, टनेल, द्रुतमार्गले बजेट पाउने छन् । स्थानीय तहमा पुग्ने कम्तीमा एउटा सडक बाह्रै्र महिना चल्ने गरी विकास गरिने भएको छ । प्रसारण लाइन, लघु, मझौला जलविद्युत् आयोजनालाई प्राथमिकता दिई सबै नागरिकको पहुँचमा विद्युत पुर्याउने समेत अर्थमन्त्रीले जनाए ।
प्रकाशित समय : १६:४८ बजे


















