गृहपृष्ठ सुस्तापूर्वमा एउटा मतदान केन्द्रको पुरै जिम्मा महिलाहरुलाई
सुस्तापूर्वमा एउटा मतदान केन्द्रको पुरै जिम्मा महिलाहरुलाई
नवलपरासी बर्दघाट सुस्तापूर्वको एउटा मतदान केन्द्रमा महिला कर्मचारीमात्रै खटाइएको छ । मतदान केन्द्रमा मतदान अधिकृतसहित सबै कर्मचारी महिलामात्रै खटाइएको जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्माले बताएका छन् ।
शर्माका अनुसार कावासोती नगरपालिका-३ स्थित जीवनज्योति माविमा रहेको मतदान केन्द्र (ख)मा मतदान अधिकृतदेखि सहयोगीसम्म सबै कर्मचारी महिलामात्रै खटाइएको हो । उक्त मतदान केन्द्रमा खटाइएका पाँच महिला कर्मचारीमा एक जना घरेलु तथा साना उद्योग कार्यालयबाट र चार जना जिल्ला अदालत नवलपुरबाट रहेका छन् ।
मतदान अधिकृत शान्ति गुरुङ, सहायक मतदान अधिकृत राधिका सापकोटा (घरेलु तथा साना उद्योग कार्यालय नवलपुर) सहायक कर्मचारी रचना ढुंगाना, सहायक कर्मचारी सुस्मिता पंगेनी र कार्यालय सहयोगी जीवकला केसी पराजुली गरेर पाँच जना सबै महिला कर्मचारीमात्रै खटाइएको शर्माले जानकारी दिए ।
निर्वाचन केन्द्र महिलामैत्री र नमूना बनाउन सम्पूर्ण जिम्मेवारी महिलालाई दिइएको उनको भनाइ छ । विगतमा भएका निर्वाचनमा समेत नमूना कार्यअन्तर्गत महिलामैत्री मतदान केन्द्र हुन गरेका थिए । गत निर्वाचनमा शिव मावि कावासोती दुईमा महिला कर्मचारीमात्रै खटाइएको थियो । नवलपुरमा स्थानीय तह निर्वाचनका लागि ११३ मतदानस्थल र २९९ वटा मतदान केन्द्र रहेका छन् ।
सबै मतदानस्थलमा मतपत्र पुग्यो
नवलपरासीपूर्व नवलपुरका सबै मतदानस्थलमा मतपत्र पुगेको छ । स्थानीय तह निर्वाचनका लागि सबै मतदानस्थलमा मतपत्रलगायत आवश्यक सामग्री पुगेको जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख शर्माले बताए ।
जिल्लामा रहेका ११३ मतदानस्थलका २९९ मतदान केन्द्रमा आवश्यक पर्ने मतपत्र, मतपेटिकालगायत सामग्री पुगेको उनले बताए । नवलपुरको पहाडी क्षेत्र तथा यातायातका हिसाबले विकट मानिने मतदानस्थलमा समेत मंगलबार रातिसम्ममा मतपत्र, मतपेटिक पुगेको शर्माले बताए ।
जिल्लामा रहेका मतदानस्थलमध्ये १० वटा मतदानस्थललाई अतिसंवेदनशीलमा राखिएको छ । भौगोलिक विकटता, विगतको सुरक्षा विश्लेषण, राजनीतिक दलबीचको प्रतिस्पर्धा, सञ्चार, ‘रेस्पोन्स टाइम’, सामाजिक संरचना आदिका आधारमा जिल्लाका १० वटा मतदानस्थललाई अति संवेदनशीलमा राखिएको छ ।
यहाँ ३८ मतदानस्थललाई संवेदनशीलमा राखिएको छ भने ६५ वटा मतदानस्थललाई सामान्यमा राखिएको छ । निर्वाचन आयोगको तथ्यांकानुसार नवलपुरमा २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष पूरा हुने मतदाताको संख्या दुई लाख ५४ हजार ६१५ रहेको छ ।
जसमा पुरुष एक लाख २१ हजार ३८, महिला एक लाख ३३ हजार ५७३ र अन्य चार जना मतदाता रहेका छन् ।
प्रकाशित समय : १६:०५ बजे


















