nmb bank

गृहपृष्ठ शीर्ष नेताको चुनावी दौडधुप बढ्दै

शीर्ष नेताको चुनावी दौडधुप बढ्दै

शीर्ष नेताको चुनावी दौडधुप बढ्दै

स्थानीय तहको निर्वाचन आउन केही दिन मात्र बाँकी छँदा चुनावी सभालाई सम्बोधन गर्न प्रमुख दलका शीर्ष नेताहरुको दौडधुप बढ्न थालेको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले यही वैशाख २६ गते धनगढीमा र वैशाख २७ गते गृह जिल्ला डडेलधुरामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ ।

बिहिबारमात्रै देउवाले चितवनकाे भरतपुरमा हुन गइरहेको चुनावी सभालाई सम्बोधन गर्दैछन् । नेकपा माओवादी केन्द्रको तर्फबाट मेयरकाे उम्मेदवार बनेकी रेनु दाहाल र कांग्रेसको तर्फबाट उपमेयरकाे उम्मेदवार बनेका चित्रसेन अधिकारीका लागि देउवाले भोट माग्नेछन् । सभालाई सम्बोधन गर्नका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता शेखर कोइराला र महामन्त्री गगन थापा पनि चितवनमा छन् । यहाँ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज कैलाली र कञ्चनपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने प्रतिनिधि सभाका सदस्य नारदमुनी रानाले जानकारी दिए । कैलालीको धनगढी, बर्दगोरिया र कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरीमा एमालेद्वारा आयोजना गरिने चुनावी सभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवा कैलालीकोे लम्कीचुहा, टीकापुर र गोदावरी नगरपालिका लगायतका क्षेत्रमा सत्ता साझेदार दलद्वारा आयोजित छुट्टाछुट्टै चुनावी सभामा सहभागी भई बुधबार डडेलधुरा पुगेकी छिन् । कैलालीका १३ पालिका प्रमुख उपप्रमुखमा सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले चुनावी तालमेल गरेका छन् ।

वडा तहका प्रत्यासीको हकमा भने यी दलबीच तालमेल हुन सकेको छैन । नेकपा एमाले लगायतका दलले भने एकलरुपमा उम्मेदवारी दिएका छन् । पालिका तहको प्रमुख उपप्रमुखमा गरिएको तालमेल प्रति असहमति राख्दै कतिपय तहमा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रकाशित समय : १४:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु