गृहपृष्ठ देउवा-प्रचण्डले सम्बोधन गर्ने भरतपुरकाे चुनावी सभास्थल पानीमा डुबेर बिजाेग !
देउवा-प्रचण्डले सम्बोधन गर्ने भरतपुरकाे चुनावी सभास्थल पानीमा डुबेर बिजाेग !

चितवनको भरतपुरस्थित केन्द्रीय बस टर्मिनलको खाली क्षेत्रलाई सत्ता गठबन्धनको चुनावी सभाका लागि हिजोदेखि नै सिंगारिएको थियो । तर रातभरी परेको पानीका कारण चुनावी सभास्थल अहिले जलमग्न बनेको छ ।
सत्ता गठबन्धनको चुनावी सभा सम्बोधनका लागि यो क्षेत्रमा मञ्च निर्माण गरिएको थियो । सभालाई सम्बोधन गर्नका लागि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता शेखर कोइराला र महामन्त्री गगन थापा चितवनमा छन् ।
सभाका लागि अघिल्लो दिन नै तयार पारिएको मञ्च र टेन्टहरू पनि डुबानमा परेका छन् । आमसभा स्थललाई सजाउन राखिएका झण्डाहरू पनि हावाले उडाउँदा यत्रतत्र झरेर पानीमा डुबेका छन् । अब कसरी आमसभा गर्ने भन्नेबारे छलफल गरिने कांग्रेसका एक नेताले जानकारी दिए । सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा हिजोदेखि नै चितवनको भरतपुरमा बसेका छन् ।
प्रकाशित समय : १५:०७ बजे