विवाद राखेपमा पुगेपछि छानबिन समिति गठन गर्न एन्फा तयार
वि.सं.२०७९ वैशाख २१ बुधवार १६:०९
shares

नेपाली राष्ट्रिय टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको ‘निर्देशन’ मा टिम छाडेका १० खेलाडीको विषयलाई लिएर अखिल नेपाल फुटबल संघ (एन्फा) छानबिन समिति गठन गर्न तयार भएको छ ।
अघिल्लो साता दशरथ रंगशालामा प्रशिक्षण सत्रका बेला एन्फा होस्टेलमा बस्ने कि होटलमा भन्ने विवादले फुटबल टिममा विग्रह ल्याएको थियो । १० खेलाडीले आफूलाई प्रशिक्षकले टिमबाट अकारण निकालेको भन्दै हारगुहार गरिरहेका थिए भने अल्मुताइरीले आफ्नो अनुमति विना खेलाडीहरु गएको भए पनि कारबाही नगर्न आग्रह गरेको थियो ।
टिमबाटै निकालिएका १० खेलाडीले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङसँग भेटेर घटनाबारे जानकारी गराएका थिए । त्यसपछि सदस्यसचिवले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई आफैं समस्या समाधान गर्न निर्देशन दिएका थिए ।
लगत्तै एन्फा छानबिन समिति गठन तयार भएको हो । खेलाडीहरूले मंगलबार राखेप सदस्यसचिव घिसिङसँग छानबिनको माग राख्दै दोषीमाथि कारबाही गर्न आग्रह गरेलगत्तै खेलाडीलाई एन्फामा बोलाएर छलफल गर्दै शेर्पाले छानबिन समिति गठन गर्ने बताएका हुन् ।
























