global ime bank Long Banner Ad

गृहपृष्ठ चुनावी प्रचारमा हिँडेका उम्मेद्वारको माइक बरामद

चुनावी प्रचारमा हिँडेका उम्मेद्वारको माइक बरामद

चुनावी प्रचारमा हिँडेका उम्मेद्वारको माइक बरामद

आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएर प्रचार प्रसारमा जुटेका कास्कीका राजनीतिक दल र उम्मेदवारहरुले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् । उम्मेदवारहरुले आचारसंहिता विपरीतका कार्य गरेको जनगुनासापछि मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीको जिल्ला आचारसंहिता अनुगमन समितिबाट पोखरा महानगरका विभिन्न वडामा अनुगमन गर्दा निर्वाचन आचारसंहिताको उल्लंघन भएको पुष्टि भएको हाे ।

समितिले मंगलबार साँझ ५ बजे पोखराका विभिन्न वडामा निर्वाचन प्रचार प्रसार कार्यको अनुगमन गर्दा आचारसंहिता विपरीत प्रयोग गरिएका १५ थान लाउड स्पिकर (माइक) बरामद गरेको छ । जिल्ला आचारसंहिता अनुगमन समितिका सदस्य-सचिव हुमनाथ पराजुलीको नेतृत्वमा पोखराका वडा नं १, २, ३, ६, ७, ८, ९ र १० मा अनुगमन गर्दा माइक बरामद गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका आचारसंहिता अनुगमन अधिकृत निलप्रसाद पनेरुले जानकारी दिए ।

उनका अनुसार निर्वाचन आचारसंहितालाई पूर्ण कार्यान्वयन गर्न आमसभा र कोणसभा गर्न अनुमति प्राप्त स्थानमा बाहेक सवारी साधन वा अन्य कुनै स्थानमा राजनीतिक दल, स्वतन्त्र उम्मेदवार वा व्यक्तिले माइक प्रयोग गर्न पाउँदैनन् । कार्यालयले आगामी दिनमा अनुमति प्राप्त स्थानमा बाहेक अन्यत्र माइक प्रयोग नगर्ने/नगराउने सर्तनामा सहित एक पटकका लागि माइक फिर्ता गरिएको जनाएको छ ।

राजनीतिक दल तथा उम्मेदवारहरुबाट पुनः लाउड स्पिकर प्रयोग गरेको पाइएमा कानुनबमोजिम कारबाही हुनेसमेत जनाएको छ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारहरुले चुनावी प्रचार अभियानलाई तीव्र बनाएका छन् ।

विभिन्न दल र उम्मेदवारले वडा वडामा सांस्कृतिक कार्यक्रमसहित चर्को आवाजमा कार्यक्रम गर्दा आचारसंहिता उल्लंघन हुने गरेको पाइएको छ ।

प्रकाशित समय : १५:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु