गृहपृष्ठ फेरि संगठित सुन तस्करी ! २ कराेड मूल्यकाे सुनसहित विमानस्थलबाट ५ जना पक्राउ
फेरि संगठित सुन तस्करी ! २ कराेड मूल्यकाे सुनसहित विमानस्थलबाट ५ जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत फेरि संगठित रुपमा सुन तस्करी हुन थालेको पाइएकाे छ । साढे ३३ किलो सुन तस्करी प्रकरणपछि पहिलाेपटक 'संगठित प्रकृति'काे तस्करीमा संलग्न ५ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
प्रहरीले उनीहरूकाे साथबाट दुई किलो ३३२ ग्राम सुन बरामद गरेकाे छ । बरामद गरिएको सुनको मूल्य झण्डै २ करोड रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुबईबाट काठमाडौं आएको हिमालयन एयरलायन्सको विमानको शौचालयभित्र फोहोरसँगै रहेको सुनको बिस्कुट बोकेर निस्कँदै गर्दा उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सुनगाभा सप्लायर्स एण्ड सरसफाई प्रालिमार्फत सरसफाईमा खटिएका पाँचथर याङबरक गाउँपालिका ४ का २८ वर्षीय भीमकुमार माबो, नुवाकोट तादी गाउँपालिका ५ का २७ वर्षीय सुमन तामाङ, उदयपुर लिम्चुङबुङ गाउँपालिका २८ वर्षीय राजेश राई, दोलखा गौरीशंकर गाउँपालिका २ का ट्याक्सी चालक ४१ वर्षीय हेमबहादुर थापा र सप्तरी सुरुङगा नगरपालिका ४ का ३६ वर्षीय ताराकान्त चौधरी रहेका छन् ।
माबोले विमानको शौचालयभित्र फोहोरसँगै रहेको सुनको बिस्कुटहरू बाहिर ल्याएर फोहोर जम्मा गर्ने स्थानमा आएर सहकर्मी सुमनलाई बोलाएर बाँडेर लिएर निस्कन खोजेको प्रहरीले जनाएको छ । पर्सभित्र टेपले बेरिएको सुनको बिस्कुट लिएर बाहिरिने क्रममा उनीहरु विमानस्थलको फलामे गेटमा स्क्रिनिङ गर्दा पक्राउ परेका हुन् । माबोको साथबाट १० थान बिस्कुट अर्थात् ११ सय ६६ ग्राम र सुमनको साथबाट पनि सोही परिमाणको सुन बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए । 'पहिले दुईजनलाई पक्राउ गरिएकाे हाे । उनीहरूलाई साेधपुछ गर्ने क्रममा अरू थप तीनजनाकाे संलग्नता देखियाे । त्यसपछि तीनैजना पक्राउ परे,' एसएसपी ढकालले भने ।
बरामद गरिएको सुनसहित पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको एसएसपी ढकालले जानकारी दिए ।
प्रकाशित समय : २०:०४ बजे



















