गृहपृष्ठ अफगानिस्तानमा विस्फोट हुँदा ९ जनाको मृत्यु, १३ घाइते
अफगानिस्तानमा विस्फोट हुँदा ९ जनाको मृत्यु, १३ घाइते
उत्तरी अफगानिस्तानमा भएकाे विस्फोटमा परेर ९ जनाको मृत्यु भएको छ । घटनामा कम्तिमा १३ जना घाइते भएका छन् । बल्ख प्रान्तको राजधानी मजार-ए-शरीफमा दुई छुट्टाछुट्टै गाडीलाई लक्षित गरी विस्फोट गराइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
प्रहरीका प्रवक्ता मोहम्मद आसिफ वाजिरिले रमजानको उपवास तोड्ने क्रममा घर फर्किएका सर्वसाधारलाई लक्षित गरी विस्फोट गराइएको बताएका छन् । विस्फोटको जिम्मा हालसम्म कसैले पनि लिएका छैन ।
पछिल्लो समय सो क्षेत्रमा सरकारी अधिकारीहरुले सुरक्षा व्यवस्था कडा पारेको दावी गरेपनि शिया अल्पसंख्यक हजारा जातीय समुदायका सर्वसाधारण आक्रमणकारीको निशानामा पर्दै आएका छन् । केही दिनअघि पनि सोही क्षेत्रको मजार-इ-शरीफको एक शिया मस्जिदमा विस्फोट हुँदा १२ जनाको मृत्यु भएको थियो ।
यस्तै गतहप्ता पनि कुन्दुज शहरको अर्को मस्जिदमा विस्फोट हुँदा अल्पसंख्यक सुफी समुदायका ३६ जनाको मृत्यु भएको थियो । सुन्नी बहुल अफगगानिस्तानमा आइएसआइएलको क्षेत्रीय शाखाले बारम्बार शिया र सुफीलगायत अल्पसंख्यक समुदायलाई निशाना बनाउँदै आएको छ ।
अफगानिस्तानको जनसंख्यामध्ये करिब २० प्रतिशत अल्पसंख्यक समुदाय रहेको बताइएको छ ।
प्रकाशित समय : १७:०० बजे

















