गृहपृष्ठ स्थानीय तह निर्वाचनको मनोनयन शुरु, भोलिसम्म उम्मेद्वारी दर्ताको समय
स्थानीय तह निर्वाचनको मनोनयन शुरु, भोलिसम्म उम्मेद्वारी दर्ताको समय
स्थानीय तह निर्वाचनका लागि आजदेखि उम्मेद्वारहरुको मनोनयन प्रक्रिया शुरु हुँदैछ । निर्वाचन आयोगले वैशाख ११ र १२ का लागि देशभरका मुख्य निर्वाचन कार्यालय र निर्वाचन कार्यालयमा मनोनयनको मिति तोकेको हो ।
आज बिहान १० बजेदेखि भोलि अपरान्ह ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारहरुले आफ्नो नाम मनोनयन गर्न पाउनेछन् । निर्वाचन आयोगले शनिबार गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मनोनयन दर्ताको मिति शुरु भएसँगै निर्वाचनको तयारी एक चरणबाट टुंगिएर अर्को चरणमा प्रवेश गरेको बताए ।
देशभरका ७५३ स्थानीय तहको प्रमुखदेखि वडा सदस्य पदसम्मका लागि दलगत र स्वतन्त्र रुपमा समेत मनोनयनपत्र दर्ता हुनेछ । ७५३ मध्ये ६ वटा महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका छन् । यी सबै तहमा प्रमुख तथा मेयर र उपप्रमुख तथा उपमेयर पदका लागि मनोनयन हुनेछ ।
निर्वाचन आयोगले मनोनयन दर्ताका लागि मापदण्ड तोकेको छ । उम्मेद्वार हुन नेपाली नागरिक हुनुपर्ने पहिलो शर्त छ । साथै २१ वर्ष पूरा भएको, आफ्नो क्षेत्रमा मतदाना नामावली भएको र कुनै कानूनले अयोग्य नभएको हुनुपर्नेछ । त्यसका साथै आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ मा भएको व्यवस्था अनुसार उम्मेद्वार बन्नका लागि अरु मापदण्डहरु पनि तोकेको छ ।
यसका साथसाथै पद अनुसार उम्मेद्वारहरुले फरक–फरक खालका कागजात पेश गर्नुपर्छ । प्रमुख तथा उपप्रमुखमा मनोनयन दर्ता गर्ने उम्मेद्वारहरुले ९ प्रकारका कागजात र वडाध्यक्ष तथा सदस्यहरुले ९ प्रकारका कारण पेश गर्नुपर्छ । दलित महिला सदस्यले १० प्रकारका कागजात बुझाउनुपर्छ ।
दलीय रुपमा उम्मेद्वारी दिने भए मनोनयनपत्र (टिकट) अनिवार्य गरिएको छ भने स्वतन्त्र उम्मेद्वारका लागि दलको पत्र आवश्यक पर्दैन ।
प्रकाशित समय : १४:०१ बजे



















