गृहपृष्ठ कठिन तालमेल लिएर गठबन्धन चुनावमा, एमाले जोखना हेर्दै
कठिन तालमेल लिएर गठबन्धन चुनावमा, एमाले जोखना हेर्दै
चुनावी तालमेलको ताल मिलाउन झण्डाझण्डै विभाजनको डिलमा पुगेको सत्ता गठबन्धन बुधबारबाट एउटा सहमतिमा आएको छ । त्यो सहमतिअनुसार महानगर र उपमहानगरको भागबण्डा मिलेपछि दलहरुले अब सिंगै चुनावमा जाने विश्वास त बनाएका छन्, तर गठबन्धनभित्रै एकअर्कामा रहेको अविश्वासले ढुकचुक कायमै छ ।
यसका बाबजुद पनि अब पाँच दल पाँच दिनमा सात प्रदेशलाई सम्बोधन गर्ने तयारी छन् । सत्ता गठबन्धनको साझा सहमतिमा कार्यतालिका नै बनाएर बैशाख १८ मा धनगढीबाट सुरु भइ बैशाख २२ मा काठमाडौंमा सक्नेगरि ठुला आम सभा आयोजना गरिएको छ ।
जसलाई प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच दलका शिर्ष नेता र पाँच दलीय संयन्त्रका संयोजक रामचन्द्र पौडेलले सम्बोधन गर्नेछन् । मुलतः उसैगरि तयारीमा रहेको नेकपा एमाले र सत्ता गठबन्धनको चुनावी ब्याटलको तीब्र दौड अब सुरु भएको छ । गठबन्धनले बुधबार भागबण्डाको विषयलाई टुङग्याएको थियो ।
त्यसको एकदिनपछि महानगर र उपमहानगरबारे निर्णायक छलफल गरेको एमालेले बैशाख १० मा मात्रै उम्मेद्वारको टुंगो लगाउने भएको छ । यसको मतलब गठबन्धनले उठाएका उम्मेद्वारको अनुहार हेरेर मात्रै आफ्ना उम्मेद्वारको टुंगो लगाउने एमालेको नीति छ । ‘त्यो पनि एउटा पक्ष हो । हामीले परिस्थितिको राम्रोसँग आकलन गरेका छौं’, नेकपा एमालेका नेता तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने, ‘हाम्राविरुद्ध गठबन्धन कसरी अगाडी बढ्छ, त्यसकाविरुद्ध कदम चाल्न हामी सचेत छौं । उम्मेद्वार छनोटका विषयमा हामी प्रक्रियागत ढंगबाट अघि आएका छौं । गाउँ, जिल्ला हुँदै प्रदेशमार्फत हाम्रो उम्मेद्वारहरु सिफारिस भएका छन् ।’
बैशाख ११ र १२ मा दलहरुले उम्मेद्वार मनोनयन गरिसक्नुपर्नेछ । तर सत्ता गठबन्धन न एमाले, कसैले उम्मेद्वारको टुंगो लगाएका छैनन् । गठबन्धनले यसअघि जारी गरेको मापदण्ड, सहमतिको मर्म र भावनाअनुरुप सम्बन्धित समितिहरुको बैठक बसी अविलम्ब सिट बाँडफाँट तथा उम्मेदवारहरुको चयन गर्न निर्देश गरेको छ । तर गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसभित्रबाटै तालमेल कार्यान्वयनमा चुनौती थप्ने गरि अभिव्यक्ति आइरहेका छन् ।
संस्थापनइतरको नेतृत्व गरेको शेखर कोइराला समूहले गठबन्धनबीच चुनावी तालमेलको आवश्यकता नभएको भन्दै निरन्तर प्रश्न उठाउनुलाई गम्भीर रुपमा हेरिएको छ ।
गठबन्धनमै आवद्ध अन्य दललाई नेपाली कांग्रेसबाट मत आउने सम्भावनामाथि समेत शंका गरिएको छ । ‘उहाँहरुले अरुलाई मत हाल्न चाहनुहँदैन भने हामी पनि सोच्न बाध्य हुनेछौं’, नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य प्रेमलकुमार खनालले भने, उहाँहरुले त्यसरी गठबन्धनविरोधी अभिव्यक्ति दिन मिल्दैन । हामी एकढीक्का भएर चुनावमा जान्छौं र जितेर आउँछौं ।’
गठबन्धनले महानगर र उपमहानगर भागबण्डाको विषयलाई टुंग्याएको छ । ५० प्रतिशत कांग्रेसलाई दिएर बाँकी एक/एक सिटमा अन्य दलले चित्त बुझाएका छन् । उपमहानगरको हकमा ६० प्रतिशतभन्दा धेरै स्थानमा कांग्रेसले भाग पाएको छ ।
पहिलो पार्टी बन्नका लागि भाग पाएका स्थानमध्ये ९० प्रतिशतमा जित हासिल गर्नुपर्छ । यसको मतलब कांग्रेसलाई १० प्रतिशतमात्रै हार्ने छुट छ । चितवनको भरतपुरमा माओवादीले भाग पाएको छ । छोरी रेनु दाहाललाई सुरक्षित बनाउन पाएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादी र जसपाकै हैसियतमा आफुलाई खुम्च्याएका छन् ।
माओवादीले न अरु स्थानमा भाग खोज्यो, न माओवादीबाट अरु कसैले उम्मेद्वारीका लागि दाबी प्रस्तुत गरे ।
पोखरामा भाग पाएको नेकपा एकीकृत समाजवादीलाई बलियो प्रतिस्पर्धी एमालेसँग जित्न कठिन छ । गत निर्वाचनमा कांग्रेस र माओवादीबीच तालमेल हुँदा पनि करिब १३ हजार बढी मतान्तरले एमाले विजयी भएको थियो । सोचेअनुसारको मत परिणाम नआए पार्टी निर्माणको चरणमा रहेको एकीकृत समाजवादीको हालत के हुन्छ अहिलेदेखि चिन्ता गर्न थालिएको छ । महानगर र उपमहानगरमा भागबण्डा मिलाएपछि तल्लो तहमा समेत चुनावी तालमेलको दबाब केन्द्रबाटै दिइएको छ ।
एमालेले गठबन्धनका नीतिहरुलाई हेर्ने र सम्भावित जोखिमलाई आँकलन गर्दै उम्मेद्वार छनोट गर्ने तयारी गरेको छ ।
प्रकाशित समय : १७:३१ बजे



















