गृहपृष्ठ बन्दीपुर सडक खाना महोत्सवमा ५० हजार पर्यटक
बन्दीपुर सडक खाना महोत्सवमा ५० हजार पर्यटक
तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सञ्चालित सडक खाना महोत्सवमा करिब ५० हजार पर्यटकले अवलोकन गरेका छन् । नयाँ वर्षका अवसरमा तीन दिनसम्म सञ्चालन भएको महोत्सवमा ५० हजार पर्यटक बन्दीपुर पुगेका हुन् । चैत ३० गतेदेखि सुरु महोत्सव शुक्रबार सकिएको छ ।
महोत्सव अवलोकनका लागि ५० हजार पर्यटक बन्दीपुर पुगे पनि बेलुका बास बस्ने पर्यटकको संख्या भने न्यून रहेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले जानकारी दिए । 'दिउँसो आउनेको संख्या अत्यधिक रह्यो, तीन दिनको अवधिमा बन्दीपुरमा पर्यटकको भीड रह्यो, बास बस्नेको संख्या कमै भयो', प्रधानले भने ।
उनका अनुसार बास बस्ने पर्यटकको संख्या दैनिक दुई हजार रहेको थियो । बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल व्यवसायी संघ बन्दीपुर र तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुरको संयुक्त आयोजनामा महोत्सव सञ्चालन गरिएको थियो । बन्दीपुरमा अहिले पर्यटकको उत्साहजनक आगमन नभए पनि नयाँ वर्षसँगै पर्यटकको आगमन वृद्धि हुनेमा व्यवसायी विश्वस्त छन् ।
सडक खाना महोत्सवमा स्थानीय चुड्का, कौरा, डोको, लाखे नाच प्रदर्शन गरिनुका साथै ‘दि इन्ट्रो व्याण्ड’ को प्रस्तुति रहेको थियो । बन्दीपुरमा होटल संघसँग आबद्ध सानाठूला गरी ७७ होटल सञ्चालनमा छन् ।
सदरमुकाम दमौलीदेखि १८ किलोमिटर परकाे डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ ।
प्रकाशित समय : १६:३२ बजे

















