गृहपृष्ठ भरतपुर महानगरको मेयर माओवादीलाई दिन देउवा तयार
भरतपुर महानगरको मेयर माओवादीलाई दिन देउवा तयार
स्थानीय तह निर्वाचनको चर्चा चलिरहँदा भरतपुर महानगरपालिका झनै चर्चामा छ । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले प्रतिष्ठाको विषय बनाएको भरतपुरमा सबैको ध्यान तानिएको छ । किनकि यहाँ कांग्रेस र माओवादी आफूले नेतृत्व पाउनुपर्ने दाबी गर्दै आएका छन् ।
कांग्रेस चितवनका नेताहरुले आफूले उम्मेद्वारी नपाए माओवादीलाई भोट नहाल्ने मात्रै भनेका छैनन्, उम्मेद्वारको सिफारिससमेत गरिसकेका छन् । तर प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर महानगरको मेयर माओवादीलाई दिने आफू तयार रहेको बताएका छन् ।
देउवा पार्टीका स्थानीय नेता/कार्यकर्ताको तीव्र दबाबका बाबजुद पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छोरी रेनु दाहाललाई मेयर बनाउने गरेको प्रस्तावसँग सहमत भएर माओवादीलाई दिन तयार भएका हुन् । प्रधानमन्त्री देउवा गठबन्धन जोगाउन भन्दै भरतपुर महानगरपालिका दोस्रोपटक माओवादीलाई दिन तयार भएका हुन् ।
पार्टीका स्थानीयस्तरका नेता/कार्यकर्ताले भने महानगरको नेतृत्व कांग्रेसले नलिए विद्रोह गर्ने चेतावनी दिएका छन् । तर यसअघि गठबन्धन दलमध्ये जसले जहाँ जितेको छ, त्यसलाई कायम राख्ने भनेपछि भरतपुर स्वतः माओवादीले पाउने निश्चित नै थियो । 'त्यही सहमतिका कारण पनि माओवादीलाई भरतपुर छोड्नुपर्ने अवस्था आएको हाे,' प्रधानमन्त्रीनिकट स्रोतको भनाइ छ ।
एमालेले जितेका काठमाडौं र पोखरा महानगरपालिकामा भागबन्डा हुन बाँकी छ । सम्भवतः काठमाडौंमा कांग्रेस र पोखरा महानगरपालिकामा एकीकृत समाजवादी वा माओवादीमध्ये एकले नेतृत्व पाउने भएका छन् ।
प्रकाशित समय : १६:३० बजे