गृहपृष्ठ पञ्चकन्या ग्रुपद्वारा दमकको बाल अस्पतालको भवन निर्माणमा सहयोग
पञ्चकन्या ग्रुपद्वारा दमकको बाल अस्पतालको भवन निर्माणमा सहयोग

पञ्चकन्या ग्रुप र काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ (केआइओसीएच)बीच झापाको दमक वडा नम्बर ७ मा बन्दै गरेको बाल अस्पतालमा ६० लाख मूल्यको एलजीएस स्ट्रक्चरबाट ४ हजार वर्गफिट क्षेत्रफलमा आस्पतालका कोठा तथा भौतिक संरचनाहरु निर्माण गर्ने सहमति भई एक सम्झौता-पत्रमा हस्ताक्षर भएको छ ।
पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेम बहादुर श्रेष्ठको धर्मपत्नी निल कुमारी श्रेष्ठको स्मृति तथा पञ्चकन्या ग्रुपले आफ्नो औद्योगिक यात्रा ५०औँ वर्ष पूरा गरेको अवसरमा उक्त अस्पताललाई सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको हो । कार्यक्रममा पञ्चकन्या ग्रुपबाट उपाध्यक्ष ध्रुव कुमार श्रेष्ठ, प्रबन्ध निर्देशक प्रदीप कुमार श्रेष्ठले बाल स्वास्थ्य जस्तो पवित्र कार्यमा हातेमालो गर्न पाउनु दुवै संस्थाको लागि गौरवको विषय भएको र यसबाट मिल्ने आत्मसन्तुष्टि अमूल्य हुने र यो जति राम्रो मानव सेवा कुनै नहुने विचार व्यक्त गरे ।
केआइओसिएचका डा. भगवान कोइरालाले राजधानीको जत्तिकै सुविधा सम्पन्न बाल अस्पतालको खाँचो यस अस्पताल सञ्चालनमा आएपछि पूरा हुने बताए । पञ्चकन्या ग्रुपले १ महिनाभित्र एलजीएसका संरचना निर्माण गरी अस्पताललाई हस्तान्तरण गर्ने छ । साथै सम्झौता-पत्र हस्ताक्षर कार्यक्रममा दुवै संस्थाका सञ्चालक र वरिष्ठ कर्मचारीको समेत उपस्थिति थियो ।
प्रकाशित समय : १७:२१ बजे