गृहपृष्ठ होटल आनन्दसँगको सम्झौता रद्द, बतासले बुझ्न मानेन पत्र
होटल आनन्दसँगको सम्झौता रद्द, बतासले बुझ्न मानेन पत्र
पशुपति क्षेत्र विकास कोषले नेपाल-भारतमैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द प्रालिसँग धर्मशाला भाडामा सञ्चालन गर्न गरिएको करार सम्झौता रद्द गरेको छ । कोष र होटेल आनन्द प्रालीकाबीच धर्मसाला होटल सञ्चालनका विषयमा भएका सम्झौताअनुसारका सर्त होटेल आनन्द प्रालिले पालना नगरेकाले सम्झौता रद्द गरिएको कोषले जनाएको छ ।
पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले उक्त सम्झौता रद्द गर्ने निर्णय गरेसँगै कोषले सूचना प्रकाशित गरी सम्झौता रद्द भएको जनाएको छ । कोष र प्रालीबीचको सम्झौता रद्द भएको विषयमा लेखिएको पत्र कोषका पदाधिकारी तथा कर्मचारीले बुझाउन जाँदा प्रालि (बतास समूह)ले बुझ्न नमानेको कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले बताए । 'होटेल आनन्द प्रालिले पशुपति क्षेत्र विकास कोषसँग गरेको सम्झौताअनुसार पालना गरेको पाइएन, कोष सञ्चालक परिषद्को बैठकले सम्झौता रद्द गर्ने निर्णय गर्यो, सम्झौता रद्द भएको पत्र बुझाउन जाँदा बतास समूहले बुझ्न मानेन्,' उनले भने ।
बतास समूहले सम्झौता रद्द भएको पत्र बुझ्न नमाने पनि पशुपति क्षेत्र विकास कोषले उक्त समूहको आधिकारिक इमेलमा पत्र पठाइसकेको जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले कोषमार्फत होटल आनन्द प्रालिलाई धर्मशाला खाली गर्न बिहीबार पत्राचार गरेको थियो ।
प्रकाशित समय : ०१:३७ बजे



















