nmb bank

गृहपृष्ठ एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड: वर्ष खेलाडीको मनोनयन सार्वजनिक

एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड: वर्ष खेलाडीको मनोनयन सार्वजनिक

एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड: वर्ष खेलाडीको मनोनयन सार्वजनिक

‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’को वर्ष खेलाडीको मनोनयन सार्वजनिक भएको छ । सुदूरपश्चिमाञ्चल एकेडेमीको मुख्य प्रायोजन रहेको एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डको वर्ष पुरुष खेलाडी र वर्ष महिला खेलाडीको मनोनयन सार्वजनिक गरिएको हो ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना हुने अवार्डको वर्ष पुरुष खेलाडीको मनोनयनमा ब्याडमिन्टनका प्रिन्स दाहाल, क्रिकेटका दिपेन्द्र सिंह ऐरी र फुटबलका टेकेन्द्र थापा परेका छन् । त्यस्तै महिलातर्फ भलिबलकी सरस्वती चौधरी, एथलेटिक्सकी राजपुरा पछाई र फुटबलकी उषा नाथ परेकी छन् । पुरुषतर्फ मनोनयनमा परेका प्रिन्स जुनियरतर्फको विश्व वरियतामा १ नम्बरमा रहेका छन् । दिपेन्द्र अन्तर्राष्ट्रिय क्रिकेटमा शतक र अर्धशतकसहित टी-ट्वान्टीमा सर्वाधिक रन बनाउने नेपाली खेलाडी हुन् । नेपाली पुरुष फुटबलको टिममा परेका टिकेन्द्र थापाले पहिलो पटक नेपालका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका छन् । उनले जावलाखेल युथ क्लबबाट ए डिभिजन लिग खेल्दै आएका छन् ।

महिलातर्फ मनोनयनमा परेकी सरस्वतीले नेपाली महिला भलिबल टोलीले बंगलादेशमा सेन्ट्रल जोन भलिबलमा स्वर्ण जित्दा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् भने घरेलु प्रतियोगिताहरुमा सानदार प्रदर्शन गर्दै आएकी छन् । उषा उमेर समूह हुँदै नेपाली महिला फुटबल टोलीमा स्थान बनाउन सफल भएकी छन् । उनी राष्ट्रिय महिला लिगको उत्कृष्ट गोलरक्षक बनेकी थिइन् । एथलेटिक्सकी राजपुराले भारतको नागाल्यान्डमा भएको साफ क्रस कन्ट्री दौडमा रजत पदक जितेकी थिइन् भने १५औं र १६औं संस्करणको पोखरा म्याराथनको उपाधि पनि जितेकी थिइन् ।

विभिन्न ८ विधामा दिइने अवार्डको तेस्रो संस्करणको तयारी तीव्र रुपमा भइरहेको छ । उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड दिइने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड’को तेस्रो संस्करणको मुख्य प्रायोजक धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमी रहेको छ भने मुख्य प्रवर्द्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ । त्यस्तै वर्षको पुरुष खेलाडी विधालाई काठमाण्डौंको मास ह्युम रिर्सोस र वर्ष महिला खेलाडी विधालाई वनदेवी युवा क्लबले प्रायोजन गरेको छ । सह-प्रायोजकमा केल्मी रहेको छ ।

प्रकाशित समय : २०:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु