गृहपृष्ठ एनआरटीले उचाल्यो सिमरा गोल्डकपको उपाधि
एनआरटीले उचाल्यो सिमरा गोल्डकपको उपाधि
जगदम्बा १२औं जितपुरसिमरा गोल्डकप फुटबलको उपाधि एनआरटीले उचालेको छ । शनिबार सिमरा रंगशालामा न्युरोड टिम (एनआरटी) विभागीय प्रतिद्वन्द्वी एपीएफ क्लबलाई ५-० को फराकिलो अन्तरले हराउँदै उपाधि जितेको हो ।
एनआरटीलाई उपाधि दिलाउने क्रममा मेसुके ओलोमाइ र स्टेफेन समीरले २-२ गोल तथा दीपेश घलेले एक गोल गरेका थिए । एनआरटीका लागि यो उपाधि सिजनकै पहिलो हो ।
एनआरटीले २०६४ सालमा बुढासुब्बा गोल्डकप जितेयता पहिलो पटक नकआउट प्रतियोगिता जितेको हो । दोस्रो पटक फाइनल पुगेर उपविजेतामा सीमित हुन पुगेको एपीएफ सुरुदेखि नै आक्रामक खेले पनि फिनिसिङमा चुकेको थियो ।
विजेता एनआरटीले १० लाख रुपैयाँ पुरस्कार पायो । उपविजेता बनेको एपीएफको भागमा ५ लाख पर्यो । सर्वोत्कृष्ट खेलाडी एनआरटीका मेसुके चुनिए । उनले एकथान बेनेली मोटरसाइकल प्राप्त गरे । विधागत पुरस्कारतर्फ पनि एनआरटी हाबी भयो ।
उत्कृष्ट गोलरक्षक प्रदीप भण्डारी, उत्कृष्ट मिडफिल्डर अशोक थापा, उत्कृष्ट फरवार्ड स्टेफेन समीर र उत्कृष्ट प्रशिक्षक राजुकाजी शाक्य घोषित भए । उनीहरू सबै एनआरटीका हुन् ।
प्रकाशित समय : १४:२३ बजे


















