global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ अनेक थिए सगरमाथाको उचाई र नाम

अनेक थिए सगरमाथाको उचाई र नाम

अनेक थिए सगरमाथाको उचाई र नाम

नेपाल हिमालको खानी नै हो । हुन पनि नेपालमा आठ हजार मिटरभन्दा माथिका हिमाल १७ वटा छन् । त्यस्तै सात हजार पाँचसय मिटरसम्मका हिमाल ४० वटा छन् । ६ हजार मिटरदेखि सातहजार पाँचसय मिटरसम्मका १२ सय ५३ वटा हिमाल छन् भने पाँच हजार पाँचसय मिटरदेखि ६ हजार मिटरसम्मका हिमाल त अनगिन्ती रहेका छन् । (स्रोतः नेपाल पर्वत २०११ को अक्टोबर अंक)

त्यस्तै समुन्द्र सतहदेखि नाप्दा हालसम्मको विश्वकै अग्लो हिमशिखर सगरमाथा पनि हाम्रै देश नेपालमा रहेको छ । जुन हिमाललाई आम रुपमा खासगरी पर्वतारोहीहरुमाझ एभरेष्ट भनेर चिनिन्छ । जुन हिमालको आदि-अनादि कालदेखि रहँदै आएको असली र पुरानो नाम भने, ‘चोमोलुङमा’ हो ।

२०७२ सालमा नेपालमा गएको भूकम्पपछि काठमाडौ उपत्यकालगायत केही ठाउँमा केही सेन्टिमिटर भए पनि उचाई बढेको पाइएपछि सगरमाथा हिमालको पनि उचाई थपघट भएको हुन सक्छ भनी सगरमाथाको नयाँ उचाई लिनुपर्ने माग त्यही बेला उठ्यो । त्यसैले लगभग दुई वर्षअघि नेपाल सरकारले सगरमाथाको नयाँ उचाई पत्ता लगाउनका लागि नापजाँचको काम गर्न तत्कालीन भूमिसुधार मन्त्रालय (हाल भूमि व्यवस्था मन्त्रालय)अन्तर्गत रहेको नापी विभागलाई कार्यादेश दिएर जिम्मासमेत दिएको थियो । तर, लगत्तै सुरु भएको कोरोना महामारी लगायतका अन्य कारणले गत २३ मंसिर, २०७७ मा मात्रै सगरमाथाको नयाँ उचाईको घोषणा गरियो ।

सो कार्य नेपाल सरकार र चीन सरकार संयुक्त रुपमा गरेको गरेको थियो । नेपाल र चीनको सो संयुक्त घोषणाअनुसार अब सगरमाथाको नयाँ उचाई आठ हजार आठ सय ४८.८६ सेन्टिमिटर कायम रहेको छ । यसअघि नेपाल सरकारले आठ हजार आठ सय ४८ मिटरलाई सगरमाथाको आधिकारिक उचाई मान्दै आएको थियो भने चीन सरकारले चाहिँ आठ हजार आठ सय ४४.४३ सेन्टिमिटरलाई आधिकारिक उचाई मान्दै आएको थियो । त्यस्तै अमेरिका, इटली, स्वीट्जरल्यान्ड आदि देशले भने सगरमाथाको उचाई आठहजार आठसय ५० मिटर रहेको भन्दै मान्दै आएको अवस्था रहेको थियो ।

यो लेखमा थोरै सगरमाथा आरोहणको इतिहास तथा सगरमाथाको उचाई र नामबारे लेख्ने प्रयास गरिएको छ । ऊ बेला अर्थात् ‘एभरेष्ट’ र ‘सगरमाथा’ नाम राखिनुअघि सगरमाथाको नामहरु अनेक अड्कल गरिएका थिए । जस्तै ‘देवढुंगो’, ‘भैरवनाथ’, ‘गौरीशंकर’, ‘चरी लमेनी’, ‘मितीगुती’, ‘चापोलुङमा’, ‘थर्ड-पोल’, ‘द गडेस मदर अफ द अर्थ’, ‘मदर गडेस अफ द स्काई’, ‘झोमोलुङमा’, ‘धरतीकी देवी’, ‘चोमो काङकार’, ‘चोमो लुुङमो’, ‘पिक एक्स भी, ‘१५औं चुली’लगायत डेढ दर्जनभन्दा बढी नामहरु अड्कल गरिएका थिए । तर, पछि गौरीशंकर, मेलुङत्सेलगायत अन्य हिमालहरु अलग्गै हुन् भन्ने पत्ता लागेपछि सगरमाथाको नाम ‘गौरीशंकर’ होइन भन्ने पक्का भयो ।

अझै पनि पर्वतारोहण क्षेत्रमा लागेका पर्वतारोहीहरु र सगरमाथालगायत विश्वका विभिन्न हिमालबारे किताब लेख्ने, फिल्म बनाउने, डकुमेन्ट्री बनाउने, स्वदेशी तथा विदेशी लेखक, खोज तथा अनुसन्धानकर्ताहरु (धेरैजसो विदेशी लेखकहरुले)ले चाहिँ ‘चोमोलुङमा’ भनी लेखेको/बोलेको पाइन्छ/देखिन्छ । स्मरणीय छ, सन् १८५६ मा बेलायती नागरिक जर्ज एभरेष्टको सम्मानमा ‘चोमोलुङमा’को नयाँ नाम ‘माउन्ट एभरेष्ट’ राखिएको थियो । सो बेला सर जर्ज एभरेष्ट भने आफ्नो सेवा अवधि सकेर बेलायतको इंगल्यान्डमा ‘रिटायर लाइफ’ बिताइरहेका थिए । उनले सन् १८२३-१८४३ सम्म भारतको नाप-नक्सा विभाग (हेड अफ सर्भे) प्रमुख भएर काम गरेका थिए । नोटः माथिका विभिन्न नाममध्ये केही नामहरु ‘टु द थर्ड पोल’ नामक किताबबाट लिइएको हो ।

त्यस्तै ‘सगरमाथा’को उचाईका सम्बन्धमा पनि सुरु-सुरुमा एक रुपता थिएन । कहिले आठ हजार आठ सय ८८ मिटर, कहिले आठ हजार आठ सय ४० मिटर, कहिले आठ हजार आठ सय ५० मिटर, कहिले आठ हजार आठ सय ७२ मिटर, कहिले आठ हजार आठ सय ४४.४३ मिटर, कहिले आठ हजार आठ सय ४८ मिटर आदि भनी प्रचारमा ल्याइने गरिन्थ्यो । यस्तो काम बढीजसो युरोप महादेश र उत्तर अमेरिकी महादेशका पर्वतारोहीहरु र लेखकहरुले गर्ने गरेका थिए । नेपालले आधिकारिक मान्दै आएको उचाई आठ हजार आठ सय ४८ मिटर जुन थियो, त्यो उचाई सन् १९५४ मा सर्भे अफ इन्डियाले गरेको नापजाँचको आधारमा निकालिएको उचाई थियो । स्मरणीय छ, चीनतर्फबाट सगरमाथा चढ्ने पर्वतारोहीहरुलाई चीन सरकारले प्रमाणपत्र दिँदा गत वर्षसम्म पनि आठ हजार आठ सय ४४ मिटरकै प्रमाणपत्र दिने गरेको थियो ।

जे भए तापनि नेपाल र चीन दुवै देशको ‘भद्र सहमति’मा सगरमाथाको नयाँ उचाई आठ हजार आठ सय ४८.८६ सेन्टिमिटर कायम भएको छ । यसले गर्दा अबका दिनमा चीन तर्फबाट सगरमाथाको आरोहण गर्ने आरोहीहरुलाई चीन सरकारले दिने प्रमाणपत्रमा पनि ‘आठ हजार आठ सय ४८.८६ मिटर’ नै कायम होला भन्ने आशा गर्न सकिन्छ । सर्वप्रथम सन् १८५२ मा सगरमाथाको उचाई आठ हजार ४० मिटर मानिएको थियो । पछि आएर व्यक्ति (पर्वतारोही तथा लेखकहरु) र देशैपिच्छे सगरमाथाको उचाई फरक-फरक मान्न थालियो । जस्तो ‘वेस्टर म्यान’ भन्ने नक्सामा त सगरमाथाको उचाई आठ हजार ७२ मिटर लेखिएको छ । त्यस्तै एक फ्रेन्च जोडीले लेखेको एक किताबमा सगमाथाको उचाई आठ हजार आठ सय ४२ मिटर मात्रै लेखिएको छ ।

यसरी सगरमाथा आरोहण गर्न मानवले प्रयास गरेको मिति सन् १९२१ लाई मान्दा लगभग ३४ वर्षपछि अर्थात् सन् १९५३ मे २९ मा बल्ल सगरमाथाको शिरमा मानव पाइला राख्न सफलता मिलेको थियो । सो वर्ष नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्ड (तत्कालीन बेलायतको मातहत रहेको देश)का एडमण्ड पर्सिभल हिलारीले प्रथम पटक सगरमाथाको शिरमा पाइला राख्न सफल भएका थिए । त्यसअघि सन् १९५१ मा सानो बेलायती पर्वतारोही टोली दार्जिलिङ, सन्दकफु/सन्दकपुर (इलाम), ताप्लेजुङ, चैनपुर, दिङला (भोजपुर) तेङबोचे हुँदै नेपाल तर्फबाट सगरमाथा चढ्न गएका थिए । तर, उनीहरुले पनि विगतका आरोही दलहरुले जस्तै सफलता पाउन सकेनन् ।

सन् १९५२ मा अर्को एक स्वीस टोलीले पनि नेपालबाटै एकै वर्षमा दुईपटक सगरमाथा आरोहण गर्ने प्रयास गरेका थिए, उनीहरुले पनि सगरमाथा आरोहण गर्नमा पूर्ण रुपमा सफलता पाउन सकेनन् । तर, उनीहरु वर्षात् अघिको प्रयासमा आठ हजार पाँच सय ९५ मिटरसम्म र वर्षात्पछिको प्रयासमा आठ हजार १६ मिटरको उचाईसम्म पुग्न सफल भएका थिए । सम्भवतः सगरमाथाको सफल आरोहण हुनुअघि त्यो उचाईसम्म पुग्ने पहिलो टोली त्यही स्वीस पर्वतारोही टोली नै थिए ।

प्रकाशित समय : १७:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु