गृहपृष्ठ सहिद स्मारक ‘बी’ डिभिजन लिग: आरसीटी विजयी
सहिद स्मारक ‘बी’ डिभिजन लिग: आरसीटी विजयी

सहिद स्मारक 'बी' डिभिजन फुटबल लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा रानीपोखरी कर्नर टिम (आरसीटी) विजयी भएको छ ।
सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल संघ) कम्पलेक्समा भएको खेलमा आरसीटीले सामाजिक युथ क्लबलाई ३-० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । आरसीटीको जितमा प्रज्ज्वल गुरुङले दुई तथा विश्वास थापा मगरले एक गोल गरे ।
विश्वासले खेलको पाँचौँ मिनेटमा गोल गर्दै आरसीटीलाई पहिलो अग्रता दिलाए । त्यस्तै खेलको २०औँ र २४औँ मिनेटमा प्रज्ज्वलले व्यक्तिगत दुई गोल गरे । जितसँगै आरसीटीले आठ खेलबाट १२ अंक जोड्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ ।
पराजित सामाजिक युथ क्लब भने आठ खेलबाट सात अंक जोड्दै नवौँ स्थानमा यथावत रहेको छ ।
प्रकाशित समय : २२:२० बजे