काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

651
shares

कास्की। आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण आगामी माघ पहिलो साता सुरु हुनेभएको छ । प्रतियोगिता माघ ५ देखि १६ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने आयोजक सहारा क्लब पोखराले जानकारी दिएको छ ।

‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गरौँ’ भन्ने नारासहित सञ्चालन हुँदै आएको यस प्रतियोगिताले नेपाली फुटबलको विकाससँगै पोखराको खेलकुद र पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउँदै आएको छ ।

पोखरा महानगरपालिकाको संरक्षकत्वमा सञ्चालन हुने प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ, नेपाल पर्यटन बोर्ड, कास्की जिल्ला खेलकुद विकास समिति र कास्की जिल्ला फुटबल संघलगायतका संस्थाले सहयोग गर्दै आएका छन् ।

प्रतियोगितामा सहभागी हुने टोली, खेल तालिका, पुरस्कार राशि तथा अन्य विवरण पछि सार्वजनिक गरिने आयोजक सहाराका अध्यक्ष केशबबहादुर थापाले जानकारी दिए । उनका अनुसार प्रतियोगितालाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न आवश्यक तयारी अघि बढाइएको छ ।

प्रतियोगिताले प्रतिभाशाली खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै पोखरालाई खेलकुद पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको अध्यक्ष थापाले बताए ।

“आहा रारा गोल्डकप राजधानी बाहिरको सबैभन्दा पूरानो फूटबल प्रतियोगिता हो । विसं २०५८ देखि निरन्तर सञ्चालन हुँदै आएको छ । आगामी संस्करण समेत भव्य र व्यवस्थित सञ्चालनका लागि आवश्यक तयारी सुरु गरेका छौँ”, अध्यक्ष थापाले भने ।

सहाराले फुटबल प्रतियोगिता सञ्चालन गरेर बचत भएको रकमले फुटबल एकेडेमी सञ्चालन गरेको छ । पोखरा–१७ दोविल्लामा रहेको एकेडेमीमा हाल देशका विभिन्न भागबाट छनोट भएका २७ जना बालकहरुले आवाससहित शिक्षा र फुटबलको प्रशिक्षण लिँदै आएका छन् ।