गृहपृष्ठ पाँचौं मेडिकल, हेल्थकेयर एन्ड ल्याबरोटरी प्रदर्शनी भृकुटीमण्डपमा सुरु

पाँचौं मेडिकल, हेल्थकेयर एन्ड ल्याबरोटरी प्रदर्शनी भृकुटीमण्डपमा सुरु

पाँचौं मेडिकल, हेल्थकेयर एन्ड ल्याबरोटरी प्रदर्शनी भृकुटीमण्डपमा सुरु

काठमाडौंको भृकुटीमण्डपमा पाँचौँ मेडिकल, हेल्थकेयर एन्ड ल्याबरोटरी प्रदर्शनी बिहीबार आजदेखि राजधानीमा सुरु भएको छ । नेपाल मेडिकल सो, एसडी प्रोमो, केमिकल एन्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपालको आयोजनामा भइरहेको शोमा भारतको ईईपीसी इन्डिया समेत सहआयोजक रहेको छ ।

चैत १० देखि १२ गतेसम्म सञ्चालन हुने मेलामा नेपाल मेडिकल हेल्थ केयर सप्लाई चेन शो, नेपाल ल्याब एक्स्पो, नेपाल फम्र्याक रहेका छन् । भारतबाट उत्पादक र निर्यातकर्ताको एक्स्पोमा उल्लेख्य उपस्थिति रहेको छ । इन्जिनियरिङ एक्सर्ट प्रमोसन काउन्सिल र केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपालको सह-आयोजनामा भइरहेको एक्स्पो अस्पताल, मेडिकल र प्रयोगशालाको क्षेत्रमा नेपालको एकमात्र बृहत कार्यक्रम हो ।

एक्स्पो सफल बनाउन नेपालका विभिन्न स्वास्थ्य संस्था, औषधि उद्योग, प्रयोगशाला र मेडिकलहरूको साथ र सहयोगले रहेको केमिकल एन्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेश घिमिरेले बताए । घिमिरेका अनुसार मेलामा १७० स्टल राखिएका छन् । जसमा भारतीय र नेपाली स्टलको बाहुल्यता रहेको छ । नेपालमा यस्ता सामग्री उत्पादनको सम्भावना रहे पनि भन्सारसम्बन्धी समस्या रहेको उनको भनाइ छ ।

आयोजकका अनुसार २०२० मा नै आयोजना हुने भनिएको यो एक्स्पो कोभिड-१९ महामारीको कारण अहिलेको मितिमा सरेको हो । एक्स्पोको उदघाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले गरेका छन् । कार्यक्रममा मन्त्री खतिवडाले स्वास्थ्य उपकरण आयातसम्बन्धी समस्या समाधान गर्न सरकार तयार रहेको बताए । उनले जनतालाई आधारभूत स्वास्थ्य सुविधा उपलब्ध गराउन तथा गुणस्तरीय स्वास्थ्य सुविधाका लागि यस्ता एक्सपो उपयोगी हुने धारणा राखे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका स्वास्थ्य तथा सीप विकास समिति सभापति हेमराज ढकालले कोभिड महामारीका बेला स्वास्थ्य पूर्वाधारको अभाव खट्किएको र स्वदेशी आयातकर्ताहरुको मेहनतका कारण स्थिति नियन्त्रणमा लिन सकिएको बताए ।

महासंघका पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठले औषधि र औषधिजन्य उत्पादनको लागत बढेको उल्लेख गर्दै मूल्य समायोजनका लागि सरकारले सहयोग गर्नुपर्ने धारणा राखे । एक्स्पोले नेपालको स्वास्थ्य संस्था र प्रयोगशालाहरूलाई अहिलेको उन्नत अवसरहरू प्रदान गर्दै उनीहरूका आवश्यकताहरू पूरा गर्ने लक्ष्य लिएको छ । नेपालमा वार्षिक ४० अर्बको केमिकल एन्ड मेडिकलसम्बन्धी सामग्रीहरुको आयात हुने गरेको छ ।

प्रकाशित समय : २१:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु