गृहपृष्ठ गाउँ पसे नेताहरु

गाउँ पसे नेताहरु

गाउँ पसे नेताहरु

शनिबार घडीले बिहानको ११ बजाउँदै गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली काठमाडौंको एक मञ्चबाट विपक्षी र सरकारमाथि तीर हानिरहेका थिए । सत्ता गठबन्धन, निर्वाचन, सरकार र सरकारका मन्त्रीहरु उनको निशानामा थिए ।

उनी भन्दै थिए, ‘यो सरकार बालुवामाथि राखिएको नक्कली मुला जस्तो हो । यो केही होइन, मुलाको पनि अलिकति सानोतिनो भए पनि जरा हुन्छ, यसको त, जरा न फरा पाँच जनाले नियुक्त गरेको छ । जरा न फराको सरकार । केही पनि छैन, टपक्क टिप्यो भने उखेलिन्छ । बालुवामा लगेर राखेको नक्कली मुला यसो एकछिन बालुवामा राखेजस्तो हो यो । फुत्त तान्दा जरोसरो केही पनि छैन, हल्लाउनु पनि पर्दैन पुक्लुक्क आउँछ । हामी खाली यसलाई तान्ने दिन खोजिरहेका छौँ। भाग्न खोजिरहेको छ । भागेर कहाँ जान्छ, कहाँ जान्छ, चुनाव त गर्नैपर्छ ।’

जब दिउँसो भयो, घडीको सुई करिब एक बजेको आसपासमा पुग्यो । एमाले अध्यक्ष ओली पर्साको वीरगञ्जमा झुल्किए । स्थानीय तहको निर्वाचन बैशाख ३० मै हुने भएपछि देख्नेलाई समेत पत्याउनै मूस्किल पर्ने गरि एमाले अध्यक्ष ओलीको व्यस्तता बढेको छ ।जबकि ओलीको दौडधुप शुक्रबारमात्रै पोखरा शहरमा केन्द्रीत थियो ।

त्यसअघि नै मोरङ पुगेर उनले रंगेली नगरपालिकाका मेयर र उपमेयरलाई पार्टी प्रवेश गराएका थिए । शनिबारमात्रै पर्सा पुगेर ओलीले वीरगञ्ज महानगरपालिका मेयर, चार वडाध्यक्ष र एक गाउँपालिका अध्यक्षलाई पार्टी प्रवेश गराएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत आफ्नो दौडधुपलाई लगालग बढाएका छन् । शुक्रबार सुर्खेतमा पुगेर कार्यकर्ता प्रशिक्षण चलाएका प्रचण्ड, दिनभर त्यही व्यस्त बने । र सुर्खेतमै विरोधीहरुको निशाना प्रचण्डमाथि पर्‍यो । कार्यकर्ताकै बीचमा रहेका प्रचण्डलाई ढुंगा प्रहार भएको र कुटिएको खबर दिनभर भाइरल भएपछि उनले स्पष्टीकरण नै दिनुपर्‍यो ।

सुर्खेतबाट सोझै नुवाकोट हानिएका प्रचण्ड शनिबार दिनभर पार्टी गतिविधिमै केन्द्रीत बने । मुलतः निर्वाचनमा कसरी जित्ने भन्ने अभियानलाई नै प्रमुख बनाएर उनको दौडधुप चलिरहेको छ । सके गठबन्धनबीच तालमेल गर्ने, नसके माओवादी एक्दै चुनाव लड्न सक्षम रहेको प्रचण्डको दाबी छ ।

अब काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको कुरा गरौं । कमै मात्र राजधानी बाहिर जाने र काठमाडौंमै भएका कार्यक्रममा समेत न्यून उपस्थिति जनाउने देउवा आजभोलि व्यस्त छन् । यतिबेला उनले समेत दिनमा दुईचार वटा मञ्चलाई काठमाडौंमै सम्बोधन गर्नेगरेका छन् । बालुवाटारबाट सिंहदरबार पनि विरलै जाने देउवा बिहिबार त पर्सा नै पुगेर पार्टीको कार्यक्रमलाई सम्बोधन गर्न भ्याए ।

आइतबारदेखि कांग्रेसले ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु गरेको छ । देउवाले ७५ जिल्लामै केन्द्रीय नेताहरुलाई खटाएका छन् । नेपाली कांग्रेसका अधिकांश नेता अहिले गाउँमा कार्यकर्ताका बीचमा भेटिन्छन् ।

यी प्रमुख तीन पात्र झैँ अन्य दलका अन्य नेतासमेत आ-आफ्नै रणनीतिका साथ दौडधुप चलाइरहेका छन् । निर्वाचनलाई आफ्नो पल्लामा पार्न रोग, भोक र शोक नभनी नेताहरुको दौडधुप चलिरहँदा स्थानीय तहको निर्वाचनको सरमर्गी बढेको स्पष्टै छ ।

स्थानीय तहको निर्वाचन आगामी बर्षको बैशाख ३० मा हुँदैछ । कसले कसका कार्यकर्ता बढी तान्ने होड सुरु भएको छ । कसले कसलाई कति प्रलोभनमा पार्ने प्रतिस्पर्धा चलिरहेको छ ।

मुलतः झण्डै पाँच बर्षअघि हराएका नेताहरु निर्वाचन आएसँगै गाउँ पस्न थालेका छन् ।

प्रकाशित समय : १७:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु