काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

गाउँ पसे नेताहरु

9.66K
shares

शनिबार घडीले बिहानको ११ बजाउँदै गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली काठमाडौंको एक मञ्चबाट विपक्षी र सरकारमाथि तीर हानिरहेका थिए । सत्ता गठबन्धन, निर्वाचन, सरकार र सरकारका मन्त्रीहरु उनको निशानामा थिए ।

उनी भन्दै थिए, ‘यो सरकार बालुवामाथि राखिएको नक्कली मुला जस्तो हो । यो केही होइन, मुलाको पनि अलिकति सानोतिनो भए पनि जरा हुन्छ, यसको त, जरा न फरा पाँच जनाले नियुक्त गरेको छ । जरा न फराको सरकार । केही पनि छैन, टपक्क टिप्यो भने उखेलिन्छ । बालुवामा लगेर राखेको नक्कली मुला यसो एकछिन बालुवामा राखेजस्तो हो यो । फुत्त तान्दा जरोसरो केही पनि छैन, हल्लाउनु पनि पर्दैन पुक्लुक्क आउँछ । हामी खाली यसलाई तान्ने दिन खोजिरहेका छौँ। भाग्न खोजिरहेको छ । भागेर कहाँ जान्छ, कहाँ जान्छ, चुनाव त गर्नैपर्छ ।’

जब दिउँसो भयो, घडीको सुई करिब एक बजेको आसपासमा पुग्यो । एमाले अध्यक्ष ओली पर्साको वीरगञ्जमा झुल्किए । स्थानीय तहको निर्वाचन बैशाख ३० मै हुने भएपछि देख्नेलाई समेत पत्याउनै मूस्किल पर्ने गरि एमाले अध्यक्ष ओलीको व्यस्तता बढेको छ ।जबकि ओलीको दौडधुप शुक्रबारमात्रै पोखरा शहरमा केन्द्रीत थियो ।

त्यसअघि नै मोरङ पुगेर उनले रंगेली नगरपालिकाका मेयर र उपमेयरलाई पार्टी प्रवेश गराएका थिए । शनिबारमात्रै पर्सा पुगेर ओलीले वीरगञ्ज महानगरपालिका मेयर, चार वडाध्यक्ष र एक गाउँपालिका अध्यक्षलाई पार्टी प्रवेश गराएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत आफ्नो दौडधुपलाई लगालग बढाएका छन् । शुक्रबार सुर्खेतमा पुगेर कार्यकर्ता प्रशिक्षण चलाएका प्रचण्ड, दिनभर त्यही व्यस्त बने । र सुर्खेतमै विरोधीहरुको निशाना प्रचण्डमाथि पर्‍यो । कार्यकर्ताकै बीचमा रहेका प्रचण्डलाई ढुंगा प्रहार भएको र कुटिएको खबर दिनभर भाइरल भएपछि उनले स्पष्टीकरण नै दिनुपर्‍यो ।

सुर्खेतबाट सोझै नुवाकोट हानिएका प्रचण्ड शनिबार दिनभर पार्टी गतिविधिमै केन्द्रीत बने । मुलतः निर्वाचनमा कसरी जित्ने भन्ने अभियानलाई नै प्रमुख बनाएर उनको दौडधुप चलिरहेको छ । सके गठबन्धनबीच तालमेल गर्ने, नसके माओवादी एक्दै चुनाव लड्न सक्षम रहेको प्रचण्डको दाबी छ ।

अब काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको कुरा गरौं । कमै मात्र राजधानी बाहिर जाने र काठमाडौंमै भएका कार्यक्रममा समेत न्यून उपस्थिति जनाउने देउवा आजभोलि व्यस्त छन् । यतिबेला उनले समेत दिनमा दुईचार वटा मञ्चलाई काठमाडौंमै सम्बोधन गर्नेगरेका छन् । बालुवाटारबाट सिंहदरबार पनि विरलै जाने देउवा बिहिबार त पर्सा नै पुगेर पार्टीको कार्यक्रमलाई सम्बोधन गर्न भ्याए ।

आइतबारदेखि कांग्रेसले ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु गरेको छ । देउवाले ७५ जिल्लामै केन्द्रीय नेताहरुलाई खटाएका छन् । नेपाली कांग्रेसका अधिकांश नेता अहिले गाउँमा कार्यकर्ताका बीचमा भेटिन्छन् ।

यी प्रमुख तीन पात्र झैँ अन्य दलका अन्य नेतासमेत आ-आफ्नै रणनीतिका साथ दौडधुप चलाइरहेका छन् । निर्वाचनलाई आफ्नो पल्लामा पार्न रोग, भोक र शोक नभनी नेताहरुको दौडधुप चलिरहँदा स्थानीय तहको निर्वाचनको सरमर्गी बढेको स्पष्टै छ ।

स्थानीय तहको निर्वाचन आगामी बर्षको बैशाख ३० मा हुँदैछ । कसले कसका कार्यकर्ता बढी तान्ने होड सुरु भएको छ । कसले कसलाई कति प्रलोभनमा पार्ने प्रतिस्पर्धा चलिरहेको छ ।

मुलतः झण्डै पाँच बर्षअघि हराएका नेताहरु निर्वाचन आएसँगै गाउँ पस्न थालेका छन् ।