गृहपृष्ठ आज प्रतिनिधिसभा बैठक बस्दै, निलम्बित प्रधानन्यायाधीश राणाका विषयमा छलफल हुने
आज प्रतिनिधिसभा बैठक बस्दै, निलम्बित प्रधानन्यायाधीश राणाका विषयमा छलफल हुने

संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसम्शेर राणाविरुद्धको महाभियोगका विषयमा छलफल हुने भएको छ ।
महाभियोगको प्रस्तावलाई आइतबारको बैठकमा छलफलका लागि समय निर्धारण गरिने संसद् सचिवालयले जनाएको छ । दिउँसो १ बजे बोलाइएको बैठकको सम्भावित कार्यसूचीमा पनि महाभियोगलाई अगाडि बढाउने विषय राखिएको छ ।
राणाविरद्ध फागुन १ गते प्रतिनिधिसभामा महाभियोग दर्ता भएसँगै उनी प्रधानन्यायाधीशबाट निलम्बनमा परेका थिए ।
महाभियोगमा माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङ, कांग्रेस सचेतक पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक छन् । तीनवटै दलका ९५ सांसदले उक्त प्रस्तावलाई समर्थन गरेका छन् ।
प्रतिनिधिसभाको फागुन २२ गतेको बैठकले महाभियोग सिफारिस समिति गठन गरेको थियो । ११ सदस्यीय महाभियोग सिफारिस समितिमा एमालेका विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाङ्फे र कृष्णभक्त पोखरेल रहेका छन् । कांग्रेसका मीनबहादुर विश्वकर्मा र रामबहादुर विष्ट छन् भने माओवादीका यशोदा सुवेदी गुरुङ र रेखा शर्मा छन् । नेकपा (एकीकृत समाजवादी)बाट कल्याणी खड्का, जसपाबाट प्रमोद साह र लोसपाबाट एकवाल मियाँ सदस्य रहेका छन् ।
प्रकाशित समय : १६:४० बजे