गृहपृष्ठ स्वतन्त्रताका नाममा पीत पत्रकारिता गर्नुुहुँदैन : अध्यक्ष ओली
स्वतन्त्रताका नाममा पीत पत्रकारिता गर्नुुहुँदैन : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्रताका नाममा पीत पत्रकारिता गर्न नहुने बताएका छन् । प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाअधिवेशनको शुक्रबार पोखरामा उद्घाटन गर्दै उनले आजको सञ्चार क्षेत्र राष्ट्रको समृद्धि, सुशासन र विकासका लागि हुनुपर्ने बताए ।
सञ्चार क्षेत्रमा प्राप्त उपलब्धिलाई उपयोग गर्दै लोकतन्त्र र राष्ट्रियताका पक्षमा लाग्नु वर्तमानको आवश्यकता भएको उनकाे भनाइ छ । अध्यक्ष ओलीले नेपाली पत्रकारिता तथा प्रेस क्षेत्रको इतिहास छोटो रहेको उल्लेख गर्दै उनले स्वतन्त्र प्रेसको अवस्था अझै पछि रहेको स्पष्ट पारे । स्वतन्त्रता एवं हकअधिकारका क्षेत्रमा संविधानले स्पष्ट व्यवस्था गरेको चर्चा गर्दै उनले हक तथा अधिकारसँगै कर्तव्यको पालना गर्नेतर्फ पनि लाग्नुपर्नेमा जोड दिए । अध्यक्ष ओलीले नवीनतम प्रविधिको उपयोग गर्नुपर्नेमा जोड दिँदै अतीतमुखी नभई आगतमुखी हुनुपर्ने बताए ।
पत्रकारिता राष्ट्रको समुन्नति र विकासका लागि हुनुपर्नेमा जोड दिँदै उनले प्रेस चौतारीले आगामी दिनमा आफूलाई अझै व्यवस्थित एवं एकताबद्ध बनाएर लैजानुपर्ने आवश्यकता औँल्याए । अध्यक्ष ओलीले देशको राजनीति जनादेशी र परामादेशीबीच दुई धारमा विभक्त भएको उल्लेख गर्दै आसन्न निर्वाचनका माध्यमबाट जनादेश विरोधीलाई परास्त गर्ने बताए । अध्यक्ष ओलीले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पूरा गर्ने गरी सबै लाग्नुपर्नेमा जोड दिए ।
प्रकाशित समय : २३:१३ बजे



















