गृहपृष्ठ व्यापक अनियमितता भएको भन्दै कांग्रेस बाराको मतदान रद्द
व्यापक अनियमितता भएको भन्दै कांग्रेस बाराको मतदान रद्द
नेपाली कांग्रेसको बारा जिल्ला अधिवेशनमा व्यापक अनियमितता भएको भन्दै नेतृत्व चयनको प्रक्रिया स्थगित गरिएको छ । कांग्रेस बारा जिल्ला निर्वाचन कार्यालयले शनिबार भएको मतदान पनि रद्द भएको विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
व्यापक अनियमितता र अमर्यादित स्थिति सिर्जना भएकाले मतदानको सम्पूर्ण प्रक्रिया अर्को सूचना नआइन्जेलसम्मका लागि रद्द गरिएको जनाएको हो । बारा कांग्रेस अधिवेशनमा दुई हजार चार सय ८१ जना मतदाता छन्। शनिबार एक हजार तीन सय मत खसेपछि विवाद भएको थियो।
मतपत्र वितरण गरेकोभन्दा खसेको मत बढी भएको पाइएपछि निर्वाचन रद्द गरिएको हो। शनिबार खसेका मत सबै नष्ट गरिसकिएको छ। क्षेत्र नम्बर २ का चार बुथमा मतपत्र कब्जामा लिएर फर्जी मत खसालेको पाइएको थियो।
यहाँ सभापतिका लागि तीन जना उम्मेदवार छन्। ८० पदका लागि २२७ जना उम्मेदवार चुनावी मैदानमा थिए।
सभापति शेरबहादुर देउवा पक्षबाट दुई जना जिल्ला सभापतिका उम्मेदवार छन्। शम्भुबहादुर बुढाथोकी र राजेश राय संस्थापन पक्षका मानिन्छन्। यस्तै सभापति पदमा शेखर कोइराला पक्षबाट रामानन्द यादव उम्मेदवार छन्।
प्रकाशित समय : १४:४१ बजे



















